प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठदिने चीन भ्रमण पूरा गरी शनिबार स्वदेश आइपुगेका छन्। दाहाल बिहान करिब ११ बजे त्रिभुवन विमानस्थल उत्रेका हुन्। अमेरिका र चीन भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारसँग भेट्ने कार्यक्रम छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे।
प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्केका हुन्। उनलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गत भदौ ३० गते न्यूयोर्क गएका दाहाल उतैबाट सिधै गएका थिए। संयुक्त राष्ट्रसंघको महासभामा आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरे।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरे।
गत शनिबार चीन पुगेका उनी एसियाडको उद्घाटन कार्यक्रममा सहभागी भए। चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरे। यस क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
त्यसलगत्तै दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। त्यसपछि ल्हासा पुगेका उनले शुक्रबार छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनिया कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरे।
चीन भ्रमणका क्रममा औपचारिक कार्यक्रममा भन्दा घुमघाममा बढी समय बिताएको भन्दै नेपालमा दाहालको आलोचनासमेत भइरहेको छ।