दोलखाको जामुनेमा थप ३ किलो सुन बरामद
दोलखा ः दोलखा प्रहरीले थप ३ किलो अवैध सुन विगु गाउँपालिका–३ जामुनेबाट बरामद गरेको छ । विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो ।
अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरी निरीक्षक विक्रम तामाङले बताए । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार चीनको रोङजिया नाका ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरिरहेको छ ।
आइतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपालतर्फ भित्र्याएको प्रहरीले जनाएको छ ।
सुन तस्करीको आरोपमा अहिलेसम्म ५ जना एकै गाउँका पक्राउ परिसकेका छन् । कान्तिपुर