कर्णालीमा सहमति नजुटेपछि निर्वाचनमा गयो एमाले
सुर्खेत ः बुधबारबाट वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि अन्तत निर्वाचन हुने भएको हो । अधिवेशनको बन्द सत्रमा सहमती जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका अनुसार शुक्रवार उम्मेदवारको मनोनयन दर्ता र शनिवार निर्वाचन हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतीका आधारमा पदाधिकारी चयन गर्न दिएको निर्देशन अवेज्ञा गर्दै नेताहरु आफ्नो हठबाट पछाडी नहटेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो । अध्यक्ष ओलीले सर्वसम्वत नेतृत्व चयन गर्न नसके गुट उपगुट बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीले मात्रै होइन एमाले महासचिव शंकर पोखरेलले पनि बुधबार बन्द सत्र सुरु हुनु अघिसम्म सहमतिको अधिकतम प्रयास गरेका थिए । तर, सहमति हुने छाट नदेखेपछि उनी काठमाडौं फर्किएका थिए ।
महासचिव पोखरेलले आफ्नै टिममा बनेको गुटलाई रोक्न नेताहरु सँग वान टु वानको भेटघाटमा सहमतीको प्रयास गरेपनि स्थायी कमिटी सदस्य याँमलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाह बिचको प्रतिष्ठाको लडाईँले अधिवेशन निर्वाचन उन्मुख बनेको हो । प्रदेश अध्यक्षका लागि कँडेलले पार्टी पोलिटब्युरो सदस्य सल्यानका गुलावजंग शाह र प्रदेश अध्यक्ष शाहले प्रदेश कमिटी सदस्य कालीकोटका मिनबहादुर शाहीलाई अध्यक्ष बनाउन लबिङ थालेपछि सहमतिको सम्भावना टरेको एमाले स्रोतको दाबी छ ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले कालिकोटका शाहीलाई प्रदेश अध्यक्ष बनाउन खोजेको प्रष्ट देखिन्थ्यो । सोही अनुसार महासचिव पोखरेल पनि सकारात्मक देखिएको बताइएको थियो । तर, अध्यक्ष ओली काठमाडौं फर्किएपछि एकाएक समिकरणमा बदलाव आएको बताइएको छ ।
भिजिटर नेताका रुपमा परिचित शाहीलाई ओलीको समर्थन हुँदाहुँदै पनि महासचिव पोखरेलले एक टिकटक भिडियोबाट विवादित छवि बनाएका पार्टी पोलिटव्यूरो सदस्य गुलावजंग शाहलाई अध्यक्ष बनाउँन थालेको लविङ्ग नै अन्तत चुनावमा जाने विन्दु बनेको एमालेका एक केन्द्रीय सदस्यले बताए ।
महासचिव पोखरेलले गुलावजंग शाहलाई नेतृत्वमा ल्याउन गरेको यो प्रयास नौलो भने होइन । साविक भेरी र राप्ती अञ्चल हुँदा देखिनै सल्यानमा प्रकाश ज्वालालाई दवाउनका लागि पोखरेलले शाहलाई बोकेर हिड्ने गरेको आरोप उनी माथी रहेको एमाले स्रोत दावी गर्छ । शाहलाई पार्टीको पोलिटव्यूरो सदस्यमा ल्याउनमा मुख्य हात महासचिव पोखरेलको भएको मानिन्छ ।
भावी नेतृत्वका लागि नेताहरु बिच अन्य पदमा सहमति नजिक पुगे पनि अध्यक्षका लागि आ–आफ्नै रटानले सहमतिको सम्भावना टरेको हो । अध्यक्ष पदका लागि प्रस्तावित गरिएका शाही र शाह आफ्नै गृह जिल्लामा पार्टी कार्यकर्ताबाट नरुचाइएका नेता भएको बताईन्छ ।
शाही राष्ट्रिय योजना आयोगको सदस्य रहिसकेका नेता हुन् भने, शाह निर्वतमान प्रदेशसभा सदस्य र गत मंसिरमा सम्पन्न दोस्रो प्रदेशसभा निर्वाचनमा पराजित भएका नेता हुन् ।
स्थायी कमिटी सदस्य कँडेलनिटक नेताका अनुसार अध्यक्षमा पोलिटब्युरो सदस्य सल्यानका गुलावजंग शाह, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र उपसचिवमा दैलेखका रविन्द्रराज शर्मा तथा मुगुका जितबहादुर मल्लको नाम पक्का भएको छ ।
यस्तै प्रदेश अध्यक्ष शाहको टिमबाट अध्यक्षमा कालीकोटका मिनबहादुर शाही, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, सचिवमा सुर्खेतका डण्डीप्रसाद शर्मा, उपसचिवमा दैलेखका रुद्र शाहीको नाम टुङ्गो लागेको जनाइएको छ ।