आयोडिन नुन प्रयोगमा वृद्धि (भिडियो सहित)
मोहन जंग शाही
जाजरकोट ः सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकोमा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो ।
सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको छेडागाड नगरपालिकाको थलह र सदरमुकाम खलङ्गाबाट आयोडिनयुक्त सहुलियत नुन वितरण भइरहेको शाखाका प्रमुख भरत श्रेष्ठले बताउनुभयो ।
पाँच वर्ष पहिले ढिकेनुन मात्र प्रयोग गर्ने जिल्लावासी अहिले पूरै आयोडिनयुक्त नुन प्रयोग गर्न पाएपछि खुशी छन् । आयोडिनयुक्त नुन प्रयोग दर बढेसँगै ढिकेनुन विस्थापित भएको श्रेष्ठले बताउनुभयो । जनताको मागअनुसार आयोडिनयुक्त सहुलियतको नुन जनताले पाएको उहाँले बताउनुभयो । आयोडिनयुक्त नुन प्रयोगका फाइदा थाहा पाएकै करण पनि प्रयोग दर बढेको हो ।
अहिले खलंगाबाट १ हजार ५०५ क्वीन्टल , दल्लीबाट १ हजार ६२ क्वीन्टल , थलहबाट १ हजार ६२ क्वीन्टल र तागाबाट २६५ क्वीन्टल नुन वितरण भइरहेको छ । सडक सञ्जालसँग जिल्लाका सबै ठाउँ जोडिएका कारण आयोडिनयुक्त नुन सर्वसाधारणले पाउन सहज भएको छ । बारेकोट गाउँपालिका गाउँ पालिकामा भने समस्य रहेको छ । यहाँको मुलसाम, जिरीबाट नलगाड नगरपालिकाको दल्लीमा नुन ल्याउनका लागि दुई दिन लाग्ने गर्दछ ।