विद्यालयमा महिनावारी कक्ष स्थापना
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
जुम्ला ः जुम्लाका विद्यालयमा महिनावारी हुँदा असहज भएको अवस्थामा आरामका लागि विशेष कक्ष निर्माण गरिएका छन्। स्थानीय सरकारसँगको समन्वयमा पेस नेपाल जुम्लाले हिमा गाउँपालिका, कनकासुन्दरी र सिँजा गाउँपालिकाका दुई/दुई विद्यालयमा नमुनाका रूपमा महिनावारी कक्ष स्थापना गरेको हो।
विद्यालयका बालिका महिनावारी हुँदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्ने व्यवस्था मिलाइएको छ। पेस नेपालका परियोजना संयोजक हेमराज भट्टका अनुसार बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने हिसाबले महिनावारी आराम कक्ष निर्माण गरिएको हो।
कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कु, सिँजा गाउँपालिकाको मावि चुलेल गाउँ, महादेव मावि गुठी, हिमा गाउँपालिकाको अन्नपूर्ण माध्यमिक विद्यालय मष्ठामाडु, भानु माध्यमिक विद्यालय महावैपाथलखोलामा महिनावारी आराम कक्ष निर्माण गरिएका छन्।
परियोजनाले कालीकोटको नरहरिनाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यमिक विद्यालय र रूपादेवी आधारभूत विद्यालयमा समेत महिनावारी आराम कक्ष निर्माण गरेको छ। पेस नेपालका परियोजना प्रमुख भट्टका अनुसार खानेपानी सरसफाइ स्वच्छता उत्थानशीलता परियोजना र जलवायुमैत्री खानेपानी सरसफाइ स्वच्छता परियोजना अन्तर्गत महिनावारी आराम कक्ष निर्माण गरिएका हुन् । महिनावारी कक्ष निर्माण भएपछि महिनावारी हुँदा आराम गर्न, सेनेटरी प्याड बदल्न सहज भएको जनाइएको छ । सिँजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडले महिनावारी हुँदा विद्यालय आउनसमेत समस्या भएका छात्राका लागि विद्यालयमा गरिएको यो व्यवस्थाले पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कनकासुन्दरी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले महिनावारी कक्षले बालिका महिनावारी भएको समयमा आराम गर्न सहज हुने बताउनुभयो।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)