एयरपोर्ट विस्तारमा चार करोड बजेट, तर जग्गा अधिग्रहण बिना असम्भव
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
जुम्ला ः कर्णालीकै व्यस्त तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल विस्तारका लागि वर्षौँपछि बजेट विनियोजन भएपनि जग्गा अधिग्रहण बिना विस्तार असम्भव देखिएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै जुम्ला विमानस्थल स्तरबृद्धिको बाटो खुलेको हो । यद्यपि विमानस्थल विस्तार चाडै नै हुनेमा जुम्ली नागरिक ढुक्क छैनन् । गत वर्ष २०७९/८० मा विमानस्थल विस्तारका लागि विनियोजित एक करोड बजेट खर्च नभएर फ्रिज भएको थियो ।
चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले चार करोड ४२ लाख ४७ हजार सात सय ८७ रुपैयाँ विनियोजन गरेसँगै विमानस्थल विस्तार आशा जागेको छ ।
६ सय ७० मिटर लम्बाई, २० मिटर चौडाई भएको धावनमार्गमा विभिन्न समयमा ठुलो दुर्घटना भइसकेका छन् । २०७५ सालमा नेपालगन्जबाट उडेको तारा एयरको विमान जुम्ला विमानस्थलको धावनमार्गमै दुर्घटना भएपछि एयरपोर्ट विस्तारको बहस चर्को रुपमा चलेको हो ।
तर पाँच वर्षपछि विमानस्थल विस्तारका लागि चार करोड ४२ लाख ४७ हजार सात सय ८७ रुपैयाँ विनियोजन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकोले आवश्यक समन्वय गर्नका जुम्ला नागरिक उड्डयन कार्यालयलाई निर्देशन दिएको छ ।
हाल विनियोजित चार करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएकोले विस्तारमा समस्या देखिन्छ ।
उनले भने,“जग्गा अधिग्रहण भएपछि मात्रै सोचेजस्तो विमानस्थल विस्तार हुन्छ । जग्गानै छैन कहाँ विस्तार गर्ने ? कहाँ संरचना बनाउने ? अहिलेकै संरचनामा के विस्तार गर्ने त्यसैले चाडै जग्गा अधिग्रहणको लागि बजेट विनियोजन भएपछि मात्रै विमानस्थल विस्तारमा सहज हुने देखिन्छ ।” जग्गा अधिग्रहण नगरी विस्तार सम्भव छैन ।
त्यसैले चाँडो भन्दा चाँडो जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापन भए काम अघि बढ्ने विमानस्थल प्रमुख अधिकारीले उल्लेख गरे ।
जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङले बेग्र प्रतीक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताए ।
सबैको साँझा प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी चार करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उनको भनाई छ । यद्यपि, आफूले सांसद पदको शपथ खाएसँगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उनको दाबी छ ।
सांसद लामाले भनिन,“विकास ढिलो चाँडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा तीन करोड बढी बजेट आयो । यो अपेक्षाकृत होइन । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।” यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताउँछन् ।
यता जुम्ला विमानस्थलको धावन मार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्ने तयारी छ । प्राधिकरणले पत्र समेत पठाई सकेको छ । तर बजेट नपठाएका कारण जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको छैन । जुम्ला विमानस्थलको लागि एक १८४.२४ रोपनी अधिग्रहण गर्नुपर्ने छ ।
जसमा तीन सय ५० मिटर पूर्वतिर र पश्चिमतिर ९२ मिटर जग्गा अधिग्रहण गर्ने तयारी छ । त्यसका लागि ४८ करोड बजेट आवश्यक पर्ने अनुमान छ । तर अर्थ मन्त्रालयले चार करोड ४२ लाख विमानस्थल विस्तारका लागि विनियोजन गर्दा जग्गा अधिग्रहणका लागि भने बजेट छुटाएको छैन ।
जग्गा अधिग्रहणको लागि बजेट जुटाउन अर्थमन्त्रीदेखि क्यानका डिजीलाई समेत निरन्तर हारगुहार गरिरहेको जुम्लाकै सांसद कान्तिका सेजुवालले बताएका छन् । जग्गा अधिग्रहणका लागि चालु आवमा न्यूनतम २० करोड छुटाईन दिन माग गरेको उनको भनाई छ । यद्यपि, हाल सम्म जग्गा अधिग्रहणका लागि बजेट आएको छैन । जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार हुन नसक्ने देखिन्छ ।
जग्गा अधिग्रहण नभएकै कारण गत वर्ष पनि विनियोजित बजेट खर्च नभएर फिर्ता भएको हो । यद्यपि,सरकारले जग्गा अधिग्रहणको लागि समयमै बजेट विनियोजन नगरेको खण्डमा चार करोड ४२ लाख रकम पनि फिर्ता हुने देखिन्छ । त्यसैले बजेट व्यवस्थापनमा सांसद देखि स्थानीय नेताको दबाब जरुरी रहेको समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)