बेनिनको पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु

गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन्।

बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अनुसार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्।

पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ। इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो। दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो।

बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ। नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ। मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन्।

यसैबीच, बेनिनको कानुन मन्त्रालयले दुर्घटनाको छानबिन थालेको बताएको छ।





error: Content is protected !!