खेलकुद पूर्वाधार निर्माण नभए अन्य प्रदेशमा सार्ने संकेत

सुर्खेत ः १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णालीसँग अव ६० हप्ताको समयमा बाँकी छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आयोजकको झण्डा बोकेर प्रदेश फर्किएको कर्णालीले हालसम्म कति खेल प्रदेशमै सञ्चालन गर्ने भन्ने अझै तय गर्न सकेको छैन ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भएका ३६ मध्ये कर्णालीले कति प्रतियोगिता आयोजना गर्ने भन्ने विषय हालसम्म पनि तय हुन नसकेको हो ।
यसअघिको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३६ खेलहरु सहभागि गराइएका थिए । गण्डकी प्रदेशमा भएको उक्त प्रतियोगितामा काठमाडौंमा एउटा खेल सुटिङ्ग मात्र आयोजना गरिएको थियो । पोखराको घरेलु मैदानमा २६ खेल आयोजना गरेको गण्डकीले बाँकी अन्य खेलहरु तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरेको थियो । उक्त प्रतियोगितामा व्यवस्थापकीय समस्या देखिएपनि गण्डकीले प्राय सबै खेलहरु प्रदेशमै आयोजना गर्न सफल रह्यो ।
तर यता कर्णालीको अवस्था भने भिन्दै छ । यहाँ वीरेन्द्रनगरमा प्रदेशकै गौरवको आयोजनाका रुपमा रंगशाला निर्माण चरणमा छ भने अन्य जिल्लामा प्रतियोगिताका लागि खेलका पूर्वाधारहरु अभाव नै छन् । यसअघि कर्णालीको मुगु, जुम्ला, हुम्ला लगायतका जिल्लामा समेत केहि खेलहरु आयोजना गर्ने वहस भएपनि हालसम्म निश्चित गर्न सकिएको भने छैन । एकातर्फ कर्णालीका अन्य जिल्लामा खेल मैदान लगायतका पूर्वाधारहरु व्यवस्था भएका छैनन् भने अर्को तर्फ प्रतियोगिताका लागि व्यवस्थापन, यातायात, होटल लगायतका सुविधा समस्या सिर्जना हुने समेत डर छ ।
‘वीरेन्द्रनगरको रंगशाला निर्माण भएमा हामीले २० वटासम्म खेलहरु त्यहाँ सञ्चालन गर्न सक्छौ । तर हक्की क्रिकेट जस्ता खेलहरुका लागि हालसम्म पनि पूर्वाधार निर्माण सम्पन्न भईसकेका छैनन्’, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले भने ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करिव एक हप्ताको समय सिमा हुन्छ । यस अवधिमा आयोजकले सबै खेल प्रतियोगिताहरु सम्पन्न गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेशबाट आयोजकको झण्डा ल्याएको कर्णालीका लागि हालसम्म २०८१ मंसिर २ गतेदेखि ९ गतेभित्र नै प्रतियोगिता आयोजना गर्नुपर्ने समय सिमा छ ।
यस्तो अवस्थामा सम्पूर्ण खेलका प्रतियोगिताहरु सुर्खेतमा मात्र आयोजना गर्न समेत सम्भव छैन । यसका लागि कर्णालीका अन्य जिल्लामा समेत केहि खेल प्रतियोगिताहरु आयोजना गर्नुपर्ने हुन्छ ।
तर पूर्वाधार समस्याका कारण हालसम्म पनि यस विषयमा आधिकारिक निर्णय भएको भने छैन । परिषद्का उपाध्यक्ष हमालले भने, ‘हक्की खेलका लागि हामीले हुम्ला जिल्ला रोजेका छौँ । यसमा पनि तयारीहरु बाँकी नै छन् ।’
क्रिकेट मैदानका लागि ठेक्का आह्वान
करिव एक करोड लागत रुपैयाँ सहित कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले क्रिकेट मैदान निर्माणका लागि अहिले ठेक्का समेत आह्वान गरेको छ ।
वीरेन्द्रनगर स्थित कालिञ्चोक क्रिकेट ग्राउड र त्यसमा हरियाली निर्माण कामकाजका परिषद्ले ९७ लाख ३७ हजार ६ सय ४० रुपैयाँ बरावरको लागत सहित ठेक्का आह्वान गरेको हो ।
समयमा नै काम सम्पन्न हुन सक्यो भने कालिञ्चोक क्रिकेट मैदानमा समेत खेलहरु आयोजना गर्ने योजना छ’, परिषद्का उपाध्यक्ष हमालले भने । परिषद्ले असोज ९ गतेसम्मका लागि ठेक्काको मिति तय गरेको छ ।
फागुनमा रंगशाला हस्तान्तरणको तयारी
वीरेन्द्रनगरमा निर्माणाधिन रंगशाला आगामी फागुन महिनामा हस्तान्तरण गर्ने योजना छ । परिषद्का उपाध्यक्ष हमालले दिएको जानकारीका अनुसार निर्माण कम्पनीले सो समयमा प्रदेशलाई रंगशाला हस्तान्तरण गर्ने तयारी गरेका छन् ।
कर्णाली प्रदेश सरकारको एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लगानीमा वि।सं। २०७८ देखि रंगशाला निर्माण शुरु भएको थियो । १० हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशालाको निर्माण ३० महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरुलाई बन्द सत्रमा राख्ने योजना गरेको छ । ‘रंगशाला निर्माण सकिएपछि हामीसँग पूर्वाधार हुन्छ । हाम खेलाडीहरुलाई त्यही रंगशालामा तयारी गराउछौ’, परिषद्का अपाध्यक्ष हमालले बताए ।
अझैपनि पूर्वाधारकै सकस
१० औं राष्ट्रिय खेलकुदमा सबै खेलहरु कर्णालीमा नै आयोजनाका लागि पूर्वाधार अभाव भए अन्य प्रदेशको समेत सहयोग लिने कर्णाली प्रदेश खेलकुद विकास परिषद्को योजना छ ।
यसअघि साउनमा वीरेन्द्रनगरमा भेला भएका देशभरका खेलकुद विकास परिषद्का सदस्य सचिवहरुले समेत कर्णालीमा सबै खेल आयोजना हुन नसक्ने जनाएका थिए । खेल पूर्वाधार निर्माणको विषयमा भने कर्णाली तिब्र रुपमा अघि बढेपनि व्यवस्थापकीय रुपमा कर्णालीमा सबै खेल आयोजना हुन नसक्ने उनीहरुको भनाई थियो ।
यस्तो अवस्थामा कर्णालीले अन्य प्रदेशसँग सहयोग लिनसक्ने परिषद्का उपाध्यक्ष हमाल बताउँछन् । ‘सबै कर्णालीमा आयोजनाको सम्भावना नभएपछि हामीले केहि खेलहरु अन्य प्रदेशमा समेत आयोजना गर्नुपर्ने हुनसक्छ’, उनले भने ।
केहि समय यता कर्णालीमा खेल पूर्वाधारका लागि प्रदेश सरकार सकारात्मक देखिएपनि संघीय सरकारले भने कुनै चासो नदिएको उनको आरोप छ ।
१० औं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार अत्यावश्यक रहेको जनाउँदै उनले भने, ‘पूर्वाधार नभए प्रतियोगिता अन्य प्रदेशमा आयोजना हुन्छन् । कर्णालीबाट निर्वाचित हुनुभएका कार्यवाहक प्रधानमन्त्री लगायतले कर्णालीमा खेल विकासको लागि ध्यान दिनुपर्ने थियो । अहिलेसम्म संघीय सरकारले यहाँ खेल विकासका लागि चासो दिएको छैन ।’








