एक वर्षमा होला त साक्षर घोषणा ः कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढबाटै वञ्चित

हेमन्त केसी

जाजरकोट ः कर्णाली प्रदेशलाई पूर्णरुपमा साक्षर बनाउनका लागि सरकार थालेको अभियान अझै प्रभावकारी हुन सकेको छैन । साक्षर जिल्ला घोषणा गरेकै ठाउँमा समेत निरक्षणको संख्य रहेको पाइएपछि प्रभावकारी नभएको हो । कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिरहँदा घोषणा गरेका जिल्लाको शैक्षिक अवस्था कम्जोर रुपमा घोषणा भएपनि त्यहाँको अवस्थासमेत सन्तोषजनक नभएको पाइएको हो । जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षर घोषणा गरिएको छ ।

कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी रहेका छन् । साक्षर घोषणा गर्न बाँकी क्षेत्रका जिल्लामा स्थानीय तहमार्फत साक्षर अभियानको सुरुवात गरिएको सरकारले बताउँदै आएको छ । कर्णाली सरकारको तथ्यांक अनुसार प्रदेशमा झण्डै साढे चार लाख नागरिक अहिले पनि निरक्षर छन् । यहाँको साक्षरता दर ६२ प्रतिशत हाराहारी छ । कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढसमेत नभएको पाइएको छ । १५ वर्षदेखि सुस्ताएको साक्षरता अभियान पुनस् सञ्चालन गर्न लागिएको हो ।

मुगुको छायानाथ रारा, जुम्लाको गुठिचौरमा साक्षरता अभियान सञ्चालन हुन लागेको छ । ‘चालु आवमा पालिकाले भने बजेट विनियोजन गरेको छैन । संघ र प्रदेशले आवश्यकताका आधारमा पठाएको बजेटको परिधिमा रहेर अभियान सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएका छन् । रास्कोट नगरपालिका कालीकोट पनि पूर्णसाक्षर नभएको पालिकामा पर्छ । नगर प्रमुख धर्मराज शाहीले एक वर्षमा पालिकालाई पूर्णसाक्षर घोषणा गर्नेगरी तयारीमा जुटेको जानकारी दिए ।

उनका अनुसार पालिकाले निरक्षरको तथ्यांक संकलन गरिरहेको छ । त्यसलगत्तै पालिकाले साक्षरता अभियान सञ्चालन गर्ने योजना बनाएको छ । उक्त नगरपालिकामा करिब २२ प्रतिशत नागरिक अझै निरक्षर छन् । डोल्पाको मुड्केचुला गाउँपालिकाले भने पालिकालाई पूर्ण साक्षर घोषणा गर्न सबै प्रक्रिया सम्पन्न गरेको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएकाले पालिकालाई साक्षर घोषणा गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।

साक्षर घोषणा गर्ने आधार तयार भएकाले पालिकालाई साक्षर घोषणा गर्न लागिएको उनले बताए । कर्णालीलाई सारक्षर बनाउनका लागि तीन तहका सरकारको भूमिका महत्वपूर्ण रहेको सरोकारवाला निकायहरु बताउँदै आएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका सबै ठाउँमा साक्षर बनाउका लागि पहल व्यापक रुपमा थालिएको बताए ।

एक वर्षभित्र हामी लक्ष्यमा पुग्ने मुख्यमन्त्री शर्माले बताए । तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षर घोषणा गरिने उनको भनाइ छ । स्थानीय तहले चाहेको खण्डमा यो वर्ष नै साक्षर जिल्ला घोषणा गर्न सकिने अवस्था रहेको भन्दै पालिकालाई तयारीमा जुट्न मुख्यमन्त्री शर्माले आग्रह गरेका छन् । उनले भने, ‘यहि वर्ष साक्षर प्रदेश घोषणा हुन्छ । त्यसको तयारीमा लाग्नुपर्ने हुन्छ । प्रदेश सरकारले पनि साही बमोजिम कार्यक्रम अघि बढाउँछ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले संघीय सरकारको नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समेटिएको जानकारी दिए । उनका अनुसार संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षर गर्नेगरी कार्ययोजना निर्माण गरेको छ । कर्णालीका २७ वटा पालिका साक्षर घोषणा हुन बाँकी रहेकाले निरक्षरहरूको तथ्यांक संकलनको मुख्य जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने उनले बताए ।

निरक्षरहरूको तथ्यांक संकलन, निरक्षरहरूको तथ्यांक विश्लेषण पहिचान, सम्बन्धित स्थानमा सरोकारवालाको बैठक, सहजकर्ताको नियुक्ति तथा तालिम, मूल्यांकन तथा साक्षार सुनिश्चितता र साक्षर घोषणा गर्ने मिति तयार गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको हो । साविक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २७ पालिका साक्षर घोषणा हुन बाँकी छन् । मुगुका चार, जुम्लाका आठ, कालीकोटका आठ, हुम्लाको एक, डोल्पाका ६ गरी २७ पालिका साक्षर घोषणा भएका छैनन् ।

स्थानीय सरकारले कार्ययोजना निर्माण गरेर साक्षरता अभियानको सुरुवात गरेका हुन् । संघीयताको कार्यान्वयनसँगै यो अभियान ओझेलमा परेको थियो । साक्षर घोषणा हुन बाँकी सबै स्थानीय तहका जनप्रतिनिधिले एक वर्षमा पालिकालाई साक्षर घोषणा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । सारक्षर घोषणा भएका जिल्लामा समेत निरक्षरको संख्य बढी रहेको पालिकाले नै जनाएका छन् । साक्षर घोषण कसरी भएको भन्नेमा प्रश्न उठिरहेको जुनिचाँदे गाउँपालिकाका रेशम खड्काले बताए ।





error: Content is protected !!