एमालेको प्रतिनिधि छनोटमा प्रदेश अध्यक्षले ‘हुकुमी शैली’ अपनाएको आरोप

सुर्खेत ः कर्णालीमा नेकपा एमालेको प्रदेश अधिवेशनको तयारी भइरहेको छ । असोज १० र ११ गते वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि प्रतिनिधि छनोटमा भने केही ठाउँमा विवाद देखिएको छ।

एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहको स्थानीय तह दैलेखको ठाटीकाँध गाउँपालिका प्रतिनिधि छनोटको विषयलाई लिएर चर्को असन्तुष्टि पैदा भएको छ।

प्रदेश अध्यक्ष शाहले प्रतिनिधि छनोटमा गुण्डागर्दी शैली अपनाएको भन्दै महिला नेतृ सुस्मिता सिंहले सार्वजनिक रुपमै प्रेस नोट जारी गरेकी छन् ।

ठाटीकाँध गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी सिंहले प्रतिनिधि छनोट शाहको हुकुमी शैलीमा मौखिक रूपमा आदेशद्वारा गरिएको बताएकी छन्।

उनले सार्वजनिक पत्रमा लेखेकी छन्, ‘म एमालेको सच्चा सिपाही हुँ । एमालेमा संगठित भएदेखि पाँचौँ कार्यकाल जिल्ला कमिटीमा रहेर काम गरेको छु । दैलेख क्षेत्र नं २ बाट एक मात्र महिला प्रतिनिधित्व हुने गरी मेरो नाम प्रदेश कमिटीमा सदस्यको लागि सिफारिस गरिएको हो । सात वर्ष अनेमसंघ दैलेखको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको छु ।

हालै सम्पन्न अनेमसंघको राष्ट्रिय अधिवेशनमा निर्वाचित भई केन्द्रीय सदस्य तथा दैलेख–२ को इन्चार्जसमेत छु । तर, म जत्तिको महिलालाई प्रदेश अधिवेशनको प्रतिनिधि निर्वाचित हुने मेरो नैसर्गिक अधिकारमा कुठाराघात भएको छ ।’

यति मात्र होइन, नेतृ सिंहले अध्यक्ष शाहको कार्य दक्षतामाथि नै प्रश्न उठाएकी छन् । नेपालको प्रजातन्त्र ‘कु’ गर्दा राजाको टिके सहायक मन्त्री, अहिलेको कर्णाली प्रदेशको टिके अध्यक्षको गुण्डागर्दी हुकुमी शासनले आफूसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया हुकुमी शैलीमा गरिएको उनको आरोप छ ।

‘निर्वाचनको प्रक्रियामा असहमति हुँदाहुँदै पनि मेरो उम्मेदवारी खुलामा पर्ने देखेपछि आधा घण्टा उम्मेदवारी दर्ता गर्ने समय १५ मिनेटमा सकियो भनेर स्वघोषणा गर्ने काम गरियो’, सिंहले भनेकी छन् । उनले अध्यक्ष शाहलाई अवसरवादी लाल गद्दारको संज्ञा दिएकी छन्।

singhko patra





error: Content is protected !!