आजकै दिन ः ह्यामरसोल्डको निधन

काठमाडौँ ः सन् १९६१ मा आजकै दिन (सेप्टेम्बर १८) मा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव डाग ह्यामरसोल्डको निधन भएको थियो । स्वेडेनी अर्थशास्त्री तथा कूटनीतिज्ञ ह्यामरसोल्ड राष्ट्रसंघको महासचिव हुने सबैभन्दा कान्छो व्यक्ति हुन् । महासचिवको पदबहाली लिँदा उनी ४७ वर्षका थिए ।
ह्यामरसोल्ड १९५३ अप्रिल ७ मा राष्ट्रसंघको महासचिव भएका थिए । उनी १९५७ मा दोस्रो कार्यकालका लागि महासचिव बनेका थिए । १९६१ मा अफ्रिकी मुलुक कंगोमा युद्धविराम गराउने प्रयासका लागि जाने क्रममा हवाई दुर्घटना हुँदा उनको निधन भयो । जाम्बियामा भएको दुर्घटनामा ह्यामरसोल्डसहित १६ जनाको मृत्यु भयो ।
उक्त दुर्घटनाको कारणबारे भने अझै पनि अनुसन्धान जारी रहेको बताइन्छ ।
ह्यामरसोल्ड हालसम्मकै प्रभावशाली र सफल महासचिव मानिन्छ । १९०५ को जुलाई २९ मा जन्मिएका ह्यामरसोल्डलाई मरणोपरान्त नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।



