घरमै जलेको शव भेटिएका आमाछोरीको हत्या आशंका

सल्यान ः त्रिवेणी गाउँपालिका-२ काभ्राका धामीढुंगामा घरको कोठामा ग्यास लिक भएर आगलागीमा मृत्यु भएका भनिएका आमाछोरीको हत्या भएको प्रहरीले आशंका गरेको छ । कोठामा ग्यास लिक नभएकाले प्रहरीले शंका गरेको हो ।

शनिबार बिहान धामीढुंगास्थित एक घरमा शुकबहादुर थापाकी ३२ वर्षीया श्रीमती रेवती थापा र उनको ९ महिनाकी छोरी ऋतुको जलेको अवस्थामा शव भेटिएको थियो । उनीहरुको शरीरको धेरै भाग जलिसकेको थियो ।

हत्याको आशंकामा प्रहरीले नेपालगन्जबाट तालिमप्राप्त कुकुर झिकाएर पनि अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले आमा र छोरी दुवै जनाको बेडमा जलेर मृत्यु भएको र शरीरका सबैजसो भाग जलिसकेको पाइएको बताए ।

कोठामा ग्यास लिक भएर आगो लाग्यो भन्ने घटनास्थलको अवस्थाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । ‘आगो कसरी सल्किएको हो कारण प्रष्ट छैन । आमाछोरी बस्ने एक तले घरमा एउटा मात्र कोठा छ । कोठामा दुईवटा ढोका छन् । एउटा ढोकाको बाहिरबाट चुकुल लगाएको छ अर्को ढोकाको भित्रबाट‚’ उनले भने ‘घटना हेर्दा शंकास्पद भएकाले कुकुर ल्याएर अनुसन्धान गरेका हौ ।’

घटना अनुसन्धानमै रहेकाले पछि धेरै तथ्य खुल्न सक्ने उनले बताए । रोजगारीका लागि भारत गएका शुकबहादुर घर फर्किसकेका छैनन् । त्यसले घटनाको अनुसन्धानमा असहज भएको डीएसपी कार्कीले बताए । घरमा भएको घटनाको खबर पाएपछि शुकबहादुर भारतबाट फर्किदै गरेको खबर आएको छ । उनी आइपुगेपछि अनुसन्धानमा सघाउ पुग्ने अपेक्षा प्रहरीको छ ।

घटना अनुसन्धानका लागि स्थानीय तथा मृतककी जेठानी पर्ने महिलालाई कार्यालयमा बोलाएर प्रहरीले सोधपुछ गरिरहेको छ । आमाछोरी दुवैको शव पोष्टमार्टमका लागि नेपालगन्जमा पठाइएको छ ।





error: Content is protected !!