अक्तियारको टोलिमाथी जाजरकोटमा आक्रमण

जाजरकोट , २२ भदौ ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा आक्रमण भएको छ । भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो । आक्रमणबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ । निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोक्काले भने, आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’
अख्तियारको गाडी चालक मानबहादुर वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । उनलाई मुक्काले हानी घाइते बनाइएको प्रहरीले बताएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको रोक्काले बताए ।
उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो । आवश्यक कागजातहरूको अध्ययन गरिरहेका बेला आक्रमण भएको डीएसपी रोक्का बताउँछन् ।
हातपात भएको खवर आएको र सो आक्रमणकारी समेत पक्राउ परेको जानकारी आएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ( सहसचिब) शिवनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार जाजरकोटका धेरै योजनाहरु रहेकाले अनुगमणमा गएको टोलिमाथी आक्रमण भएको बताउनुभयो ।



