ज्येष्ठ नागरिक संघको भवनमै आयुर्वेदिक औषधिको फार्मेसी

जुम्ला ः जुम्लामा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन आयुर्वेदिक औषधिको फार्मेसी स्थापना गरिएको छ। जुम्लाको आयुर्वेद अस्पताल सदरमुकामभन्दा टाढा रहेकाले उनीहरूलाई निःशुल्क सेवा दिन फार्मेसी स्थापना गरिएको हो।
आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको सहयोगमा उक्त फार्मेसी स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त कार्यालय प्रमुख नन्दप्रसाद न्यौपानेले बताए। उनले भने, ‘यसको स्थापना भएर मात्र हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने।
उनका अनुसार आगामी दिनमा यसलाई निरन्तरता दिन जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने हुन्छ।
त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाकी डाक्टर प्रतीमा शर्माका अनुसार प्रत्येक महिनाको २१ गते अभ्यङ्ग (स्नेहन) स्वेदन (सेक्ने) पूर्वकर्म र त्यसपछि पञ्चकर्म गरिन्छ।
उनले भनिन्, ‘ज्येष्ठ नागरिकको सेवा गर्नु हाम्रो कर्तव्य हो। उहाँहरूलाई बढी हाडजोर्नीको समस्या हुने गरेकाले यस्तो सेवा दिइएको हो। ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि फार्मेसी खोलिएको हो।’
यसका लागि सबैको सहयोग आवश्यक छ। त्यस्तै जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले यो फार्मेसीले जेष्ठ नागरिकले आयुर्वेदको सेवा लिन सहज भएको बताए।
त्यस्तै चन्दननाथ नगरपालिका-७ महतगाउँका रघुवीर महतले आयुर्वेद केन्द्रले दिइएको अभ्यङ्ग (स्नेहन) र स्वेदन (सेक्ने) सेवा लिएका छन् । उनलाई हाडजोर्नी दुख्ने समस्या थियो तर अहिले केही सहज भएको छ। त्यस्तै गुठीचौर गाउँपालिका–२ की जनरूपी बुढाले पनि यो सेवाले फाइदा भएको बताइन्।
ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले प्रत्येक महिनाको २१ गते औषधि दिइँदै आएकोमा अहिले फार्मेसी खोलेर नियमित सेवा दिन सकिने बताए। उनले ज्येष्ठ नागरिकलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे।



