स्याउ खेती हेर्न जुम्लाका महिला कश्मीर भ्रमणमा

जुम्ला ः भारतको कश्मीरदेखि बिरुवा ल्याएर जुम्लामा स्याउ खेती गरेको इतिहास सुनेकी पातारासी–७ की सुवा खड्का स्याउ उद्यमी हुन् । उनको बगैंचामा स्याउका २ सयभन्दा बढी बोट छन् । बर्सेनि दुई लाखभन्दा बढीको बेच्छिन् । बगैंचा व्यवस्थापन, मलखाद प्रयोग र काँटछाँट आफैं गर्छिन् । जुम्लाका किसानले स्याउ फलाएका तुलनामा अपेक्षित फाइदा लिन सकेका छैनन् ।

त्यसैले उनी स्याउबाट बन्ने परिकार, प्रशोधन मेसिन र कश्मीरमा गरिएको खेती हेर्न र त्यहाँबाट केही सिक्ने चाहना राख्छिन् । स्याउको बजारीकरणका विषयमा पनि जान्न मन छ ।

हामीले स्याउ खेती बढाउन व्यवसायिक खेती भइरहेका ठाउँ पुगेर जानकारी लिनैपर्छ। गुणस्तरको बनाउन कश्मीरका किसानहरुको अनुभव सुन्नु लाभकारी हुन्छ,’ उनले भनिन् । स्याउ खेती गर्ने महिला उद्यमीहरुको टोलीमा उनी बिहीबार भारतको कश्मीर भ्रमणमा गएकी छन् ।

भ्रमणमा गुठिचौर-४ की जयलक्ष्मी पाण्डे पनि साथमा छिन् । उनको बगैंचामा सय बोट छन् । बर्सेनि ५० हजार बराबरको स्याउ फल्छ । फले जतिको सबै स्याउ बजार लैजान सम्भव छैन । धेरै फाइदा लिन सकेकी छैनन् । उनले भनिन्,‘सुरुमा कश्मीरबाट ल्याएको स्याउ जुम्लामा रोपिएको भन्ने छ । यो भ्रमणमा त्यहाँ फल्ने स्याउ हेर्नेदेखि खेतीका तरिका अध्ययन हो ।’

सुवा र जयलक्ष्मीको टोलीमा उनीहरु जस्तै १० जना महिला छन् । उनीहरुलाई हिमालयन बहुद्देश्यीय सहकारी संस्थाले अध्ययन भ्रमणमा लगेको हो । पातारासीका ७ जना र गुठिचौर गाउँपालिकाका ३ जना महिलाको टोली कश्मीर प्रस्थान गरेको अध्यक्ष मायादत्त आचार्यले जानकारी दिए । उनका अनुसार चन्दननाथ, पातारासी र गुठिचौरमा गरेर महिलाका १८ वटा स्याउ समूह छन् । उनीहरु मध्येबाट १० जना छनोटमा परेका हुन् । उनीहरुले पाँच दिन कश्मीरमा रहेर बगैंचा अवलोकन, किसानहरुसँग छलफल र रोगकिरा नियन्त्रणसँगै बढी फाइदा पाउन स्याउ खेतीको विषयमा कृषि विज्ञहरुसँग भेट्नेछन् ।

उनीहरुलाई कश्मीरमा स्याउ टिप्न सिकाइने छ । टिपेर बजारसम्म ताजा लैजान सकिने प्रविधिको बारेमा किसानहरुका अनुभव साटासाट गरिने सहकारीका अध्यक्ष आचार्यले बताए । जुम्लामा स्याउको उत्पादन पर्याप्त हुन थाले पनि किसानले अपेक्षित फाइदा लिन सिकरहेका छैनन्। स्याउ खेतीमा प्रविधिको प्रयोग हुन सकेको छैन ।

कश्मीर भ्रमणले खेतीमा प्रविधि प्रयोग गर्न, स्याउ टिप्न, बिरुवा रोप्न, बगैंचा व्यवस्थापनदेखि बजारमा लैजान अपनाउनुपर्ने उपायका बारेमा जानकारी हासिल हुने सहकारीका अध्यक्ष आचार्यले बताए । भ्रमणमा निस्केका महिला उद्यमीहरुलाई जुम्ला विमानस्थलमा बिदाइ गरिएको थियो । उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष गणेश रोकायाले स्याउ खेतीले जुम्लाको आर्थिक विकासमा निकै ठुलो टेवा पुर्याएको बताए ।

‘हामी स्याउ खेतीमा परम्परागत विधिमै छौं । गुणस्तर कायम गर्न र बढी फाइदा लिन भारतमा भइरहेको विकास र विधि बुझ्नुपर्छ। महिलाहरुले स्याउ खेतीमा राम्रफ गर्ने अपेक्षा छ,’ उनले भने ।

जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको छ । भ्रमणबाट फर्किएर टोलीले जु्म्लाका स्याउ किसानहरुलाई अनुभव र सिकाइ साट्दा सबैलाई लाभ हुने संस्थाका अध्यक्ष आचार्यले बताए ।

भ्रमण टोलीमा पातारासी-६ की चुकी महतारा, मागी महतारा, मागी विष्ट, पातारासी-४ का प्यारी बुढा, कनाङ तामाङ, जाली बोहोरा, पातारासीका सुवा खड्का छन् । त्यस्तै गुठिचौर-४ का धनलक्ष्मी देवकोटा, जयलक्ष्मी पाण्डे, धनलक्ष्मी पाण्डे रहेको सहकारी संस्थाले जनाएको छ ।

१८ वटा समूह तथा सहकारीबाट उद्यमी र सफल महिलाहरु छनोट गरेर अवलोकन भ्रमण सुरु गरिएको हिमालयन सहकारीका जिल्ला कार्यक्रम व्यवस्थापक घनश्याम नगरकोटीले बताए । टोलीको नेतृत्वमा नगरकोटीले गरेका छन् । टोली जुम्लाबाट जहाजमा नेपालगन्ज, त्यहाँबाट बसमा भारतको लखनऊसम्म पुगेर त्यहाँबाट जहाजमा दिल्ली-श्रीनगर हुँदै काश्मीर पुग्ने तालिका छ ।





error: Content is protected !!