वर्षाले बगायो करोडौंँ खर्चिएका कच्ची सडक
जाजरकोट ः कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा निर्माण गरिएका २८ वटा सडक वर्षाले कामै नलाग्ने भएका छन् । नेताको पहुँचका आधारमा चल्लालाई कनिका छरे जसरी बजेट विनियोजन गरी र वातावरणीय प्रभाव मूल्याङ्कनबिना खनिएका सडक वर्षाका भलबाढीले बगाएपछि स्थानीयवासी समस्यामा परेका छन् ।
ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पैदल हिँड्नसमेत नसकिने अवस्था रहेको छ । बारेकोट गाउँपालिका–८ को कोल्यानी–छुतिपाल्ती–बण्डाला सडकमा ४० लाख रुपियाँ बजेट विनियोजन गरी सडक निर्माण गरिएकामा अहिले सो सडक सामान्य रूपमा हिँड्न मिल्ने अवस्थासमेत नभएको स्थानीयले बताएका छन् । बारेकोट–८ कै कोल्यानी–कान्छाबाडा–डाँडागाउँ सडक अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।
छेडागाड नगरपालिका–१२ को बल्लेहाडेइला सडकका लागि १५ लाख, बारेको–५, करुका कार्कीज्युलाका लागि ५० लाख, बारेकोट–४, रावतजिरी–भगवती माध्यमिक विद्यालयदेखि एकीकृत बस्तीसम्म सडक निर्माण गर्न १० लाख रुपियाँमा बजेट विनियोजन गरिएको थियो ।
बारेकोट–९, सक्ला खट्कटादेखि सक्लाटोलसम्म सडक निर्माण गर्न सात लाख, जुनीचाँदे–४, बिरा मेलटाकुरी–बिरा सडक निर्माण १५ लाख र नलगाड–१३ मा उखालेदेखि तल्लो हितानगाउँसम्म १५ लाखमा खनिएको थियो । चिप्लेटा–चौखेढुङ्गा–बराथान–रिमिदारा सडक बनाउन ५० लाख, लामातरा–साल्तडा–रावटेडाँडा हुँदै रात्ती खालीसम्मको सडक १० लाख खर्चेर बनाइएको थियो ।
शिवालय–२ को खनेटा–देउली सडक निर्माणमा २० लाख, नलगाड–१ को उर्मेढुङ्गादेखि जुरेली सडक निर्माण १४ लाख, नलगाड–५ को रानीखेत जिरो प्वाइन्ट भई थर्पपाटा रगुनाथ जोड्ने सडकमा १० लाख गरी २८ वटा सडक निर्माण गरिएको थियो । यीमध्ये अधिकांश सडकमा हाल गाडी चल्नु त कता हो कता पैदल हिँड्नसमेत मुस्किल रहेको स्थानीयको भनाइ छ । पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले वातावरणीय प्रभाव मूल्याङ्कनबिना हचुवाको भरमा पहुँचको आधारमा खन्दा यस्तो अवस्था आएको बताउनुभयो ।