रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी

हुम्ला ः नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाई राम्रो रहेको पाइएको छ । चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा अटो चालकको कमाई राम्रो हुने गरेको हो ।
हिल्साका अटो चालक नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका पासाङ लामा अटो चलाएर दैनिक राम्रो कमाई हुने गरेको बताउनुभयो । ताक्लाकोटबाट ढुवानी भएर आएको सामान नेपालको मैत्री पुलबाट हिल्सा बजारसम्म एक ट्रिप सामान ढुवानी गरेको दुई हजार लिने गरेको बताउँदै उहाँले दैनिक पाँच देखि छ ट्रिप सामान ढुवानी गर्ने गरेको बताउनुभयो । उहाँले दैनिक दश देखि बाह्र हजार रुपियाँ कमाई हुने गरेको बताउँदै मासिक तीन लाख रुपियाँसम्म कमाई हुने गरेको बताउनुभयो ।
यसअघि ताक्लाकोटमा मजदुरी काम गर्दै आउनु भएका लामाले गत असारबाट अटो चलाउँदै आउनु भएको हो । हिल्साका होटेल व्यवसायी कर्मा तुडुप लामाले यसअघि मानिसले बोकेर ल्याउने सामान यस वर्षबाट अटो रिक्साबाट ढुवानी हुने गरेको बताउँदै कमाई पनि राम्रो गर्ने गरेको बताउनुभयो । उहाँले अटो रिक्सा चालकले बिहानबाट बेलुकासम्म सामान ढुवानी गर्ने गरेको बताउँदै आम्दानीको राम्रो माध्यम भएको बताउनुभयो ।
हाल हिल्सामा यसरी सामान ढुवानी गर्ने दुई जना हुम्लावासी रहेको बताउनुभयो । यी रिक्साहरु रातभरि बत्तीमा चार्ज गरिने भएको कारण अन्य खर्च समेत नहुने बताउँदै उहाँले दुवै जना पेशाबाट खुसी रहेको बताउनुभयो । चीनको ताक्लाकोटबाट दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा आयात हुने गरेको छ ।
ताक्लाकोटबाट दुई देशको सिमानासम्म चिनियाँ गाडीमा सामान ढुवानी हुने गरेको र त्यताबाट हिल्सा बजारसम्म अटोले सामान ढुवानी गर्दै आएका छन् ।









