जगदुल्ला ए को क्षमता बढ्यो ,१२० मेगावाटको बनाउने गरी जगदुल्ला’ए’ जलविद्युत आयोजनालाई स्वीकृती
डोल्पा , २१ भदौ ः ८२ मेगावाटको सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाइएको जगदुल्ला ‘ए’ जलविद्युत आयोजना १२० मेगावाटमा निर्माण हुने भएको छ।
विद्युत विकास विभागले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई १२० मेगावाटमा आयोजना निर्माण अघि बढाउन सर्वे लाइसेन्स दिएको हो। भदौ १५ गते सचिवस्तरीय निर्णयबाट आयोजनाको क्षमता बढाइएको हो। कम्पनीले आयोजनाको ३८ मेगावाट क्षमता बढाउन विभागमा निवेदन दिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले क्षमता बढाएर आयोजना अर्ध–जलाशय प्रकृतिको बनाउने बताए। आयोजना सुरुमा नदी प्रवाहीका रुपमा अघि बढाउन लागिएको थियो।
प्रस्तावित आयोजना १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको क्यासकेड हुनेछ। क्यासकेड हुने भएपनि हेडवर्क्स भने निर्माण हुनेछ। माथिल्लो आयोजनाको हेडवर्क्सदेखि तल्लो आयोजनाको हेडवर्क्ससम्म नदी करिब ३५ किलोमिटर घुमेर आइपुग्छ। जसमा स–साना खोला मिसिएर दोब्बर पानी जम्मा हुन्छ। सोही पानी उपयोग गर्नका लागि हेडवर्क्स निर्माण गर्न लागिएको हो। सीईओ सापकोटाका अनुसार माथिल्लो आयोजनामा करिब १६ क्युमेक पानी छ। तल्लोमा भने३२ क्युमेक हुनेछ। जसले आयोजनाको क्षमता बढाउनेछ। अहिले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको छ। ६ महिनामा डीपीआर तयार पार्ने गरी नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरिरहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयारीको काम ईआरएमसी÷श्रेष्ठ जेभीले गरिरहेको छ।
प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाका लागि करिब ७ किलोमिटर मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। आयोजनाको हेडवर्क्स डोल्पाको मुड्केचुला गाउँपालिकामा रहनेछ भने विद्युत गृह (पावर हाउस) जाजरकोटको नलगाड नगरपालिकामा बन्नेछ। निर्माण थालेको ४ वर्षमा व्यावसायिक उत्पादन थाल्न सकिने अध्ययनको निष्कर्ष छ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना पनि निर्माण गर्न लागेको छ। यो आयोजनाको अध्ययन पूरा भएको छ। विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेर अहिले फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो)को काम भइरहेको छ। करिब २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ४ अर्ब रुपैयाँ ऋण दिने पत्र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले दिइसकेको छ। यही वर्ष ठेक्का निकालेर आगामी वर्ष निर्माणमा जाने तयारी छ। अहिले अन्तिम चरणमा पूर्वतयारीका काम भइरहेको सीईओ सापकोटाले बताए।
तल्लो आयोजना निर्माण गर्दा माथिल्लो आयोजनाको लागत २ अर्ब रुपैयाँ घट्ने अनुमान गरिएको छ। माथिल्लो आयोजनाका लागि कम्पनीले पहुँचमार्ग निर्माण गर्नु परेको छ। उक्त पहुँचमार्ग तल्लो आयोजनाका लागि समेत उपयोगी हुनेछ। माथिल्लो आयोजनाले अधिग्रहण गरेको जग्गा तल्लो आयोजनाका लागि समेत प्रयोग हुनेछ। ‘तल्लो आयोजनाका लागि नोमिनल जग्गा अधिग्रहण गर्नुपर्छ। हामीले माथिल्लो आयोजनाका लागि बनाएका क्याम्प फ्यासिलिटिज समेत तल्लोले प्रयोग गर्नेछ,’ सीईओ सापकोटाले भने, ‘कर्णालीमा आयोजना बनाउनु परेका कारण माथिल्लो आयोजना महँगो परेको छ। धेरै फ्यासिलिटिज माथिकै प्रयोग हुने भएकाले तल्लो आयोजनालाई ३÷४ अर्ब रुपैयाँको काम गर्नु पर्दैन।’
सुविधा प्रयोग गर्ने भएकाले माथिल्लो आयोजनाका लागि तल्लो आयोजनाले २ अर्ब रुपैयाँ दिनेछ। जसले माथिल्लो आयोजनाको लागत घट्नेछ। दुवै आयोजनाका लागि एउटै प्रसारणलाइन निर्माण गरे पुग्छ। तल्लो आयोजनामा पनि विद्युत उत्पादन कम्पनी, प्राधिकरण, एचआईडीसीएललगायत संस्थापक इक्विटी होल्डर रहनेछन्। ‘माथिल्लो र तल्लो आयोजना एक ÷ डेढ वर्षको फरकमा बनाइसक्ने गरी अघि बढाउने तयारी छ,’ सापकोटाले भने, ‘ आयोजनामा त्यस्तो ठूलो समस्या छैन। कर्णालीबासी थप आयोजना निर्माण हुने कुराले उत्साहित छन्। स्थानीयको सहयोग रहेकाले काम गर्न सजिलो छ।’