सात महिनामा पाँच सय मुद्दा दर्ता

सुर्खेत ः पछिल्लो समय चेक बाउन्सका मुद्दाहरू बढ्दै गएका छन् । पछिल्लो सात महिनाको अवधिमा चेक बाउन्स अनादर सम्बन्धी झण्डै पाँच सय मुद्दाहरू दर्ता भएको सुर्खेत प्रहरीले जनाएको छ । गएको माघ महिनादेखि हालसम्ममा सुर्खेतको वीरेन्द्रनगरमा पाँच सय मुद्दाहरू दर्ता भएका छन् ।
दर्ता भएका मुद्दाहरूमध्ये हालसम्ममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट एक सय ३९ मुद्दाहरू प्रक्रियामा अगाडि बढेका छन् । प्रहरीको तथ्याङ्क अनुसार ४५ वटा मुद्दाहरू मिलापत्र भएका छन् । त्यसैगरी, अन्य मुद्दाहरू छलफलको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताउनुभयो । पछिल्लो समय प्रहरीबाट पनि चेक बाउन्सका मुद्दाहरू दर्ता हुन थालेको छ, उहाँले भन्नुभयो, सर्वोच्चको नजिर आएपछि गएको माघ महिनादेखि मुद्दा दर्ता गर्न थालेका हौँ ।
अहिले मुद्दा दर्ता गर्नेको सङ्ख्या पनि बढ्दो छ । चेक बाउन्स तथा बैङ्किङ कसुरमा जाहेरी दिनेहरूमा पुरुष र महिलाको सङ्ख्या उस्तै रहेको शाहीले जनाउनुभयो । मुद्दामा पीडकतर्फ करिब ४० प्रतिशतको सङ्ख्यामा महिला छन् । अन्य प्रकृतिका मुद्दाभन्दा चेक बाउन्सको मुद्दामा महिलाको संलग्नता बढी देखिएको छ । अन्य मुद्दामा १० देखि १५ प्रतिशतसम्म महिलाको संलग्नता देखिएको छ भने चेक बाउन्समा ४० प्रतिशतसम्म महिलाको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैङ्किङ कसुर सम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ । गोरखापत्र










