कर्णालीको बेरुजु घटाउन आर्थिक विज्ञ ल्याउने तयारी

वीरेन्द्रनगर ः बेरुजु घटाउनका लागि कर्णाली प्रदेश सरकारले आर्थिक विज्ञ ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको बेरूजु फर्स्योटका लागि तीन जना आर्थिक प्रशासन विज्ञ ल्याउने तयारी गरिएको हो ।
आइतबार बसेको लेखा समितिको बैठकले विज्ञ माग गर्ने निर्णय गरेको थियो । सार्वजनिक लेखा समितिले विभिन्न मन्त्रालय तथा निकायहरूमा भएको बेरूजु फर्स्योटका लागि आर्थिक प्रशासन विज्ञ ल्याउने जनाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको बेरूजु तीव्र गतिमा फर्स्योट गर्नका लागि संसद् सहयोग परियोजनासँग परामर्शदाताको रूपमा आर्थिक प्रशासन विज्ञ माग गर्ने निर्णय गरिएको सार्वजनिक लेखा समितिले जनाएको छ ।
समितिको बैठकले भौतिक पूर्वाधार, आर्थिक मामिला, आन्तरिक मामिला, सामाजिक विकास मन्त्रीहरू, सामजिक विकास मन्त्रालयका सचिव लगायतलाई राखेर आर्थिक वर्ष ०७७ र ०७८ को बेरूजुको बारेमा छलफल गरेको थियो ।








