एचआइडीसीएलले जगदुल्लालाइ चार अर्ब दिने सहमति


हेमन्त केसी
सुर्खेत , १० भदौ ः जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि बिभिन्न क्षेत्रबाट लगानी जुटन थालेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी जुटाउने कार्य जारी रहेको छ ।
कर्णाली प्रदेश सरकारले समेत यो आयोजनाका लागि ११ लाख ७१ हजार५०० कित्ता शेरको रु ११ करोड ७१ लाख ५० हजार रुपैयाँ पहिलो चरणमा उपलब्ध गराएको छ । त्यस्तै दोस्रो चरणमा ६ करोड समेत यो आर्थिक वर्षमै भुक्तानी गरिसकेको छ । आयोजनाको कुल लगानीको ५ प्रतिशत शेर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ । जम्मा ३५ करोड रकम आयोजनालाई कर्णाली प्रदेश सरकारको लगानी रहने छ । त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले जगदुल्ला जलविद्युत आयोजनामा ऋण लगानी गर्न सहमति भइ आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लगानी स्वीकृत गरिसकेको छ। अन्य ४ बैंकसँग सहमतिको अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।
ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका हुन्। एचआइडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ । पिपिएमा तोकिएको तालिका अनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने सुरु गरिनेछ । आयोजनाको पिपिए सम्पन्न भइसकेकाले अबको एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापन सम्बन्धि सम्झौता गर्ने क्रम जारी रहेको छ ।
आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत अर्थात ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ ।
आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने कार्ययोजना समेत रहेको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ ।
सबै खालका अध्ययन सकिएको यो आयोजनाको फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारी भइरहेको कम्पनीका सीईओ सापकोटाले बताए। उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीयकरण फर्म बन्नेछ। जसमा नबिल बैंकलगायत फर्ममा सहभागी हुनेछन्। सीईओ सापकोटाका अनुसार यो आयोजना निर्माणले कर्णालीको विकासमा ठूलो सहायता गर्नेछ।
उनका अनुसार अहिले निर्माण पूर्व तयारीका कामहरु धमाधम भइरहेका छन्। आयोजनाको निर्माण आगामी आर्थिक वर्ष (२०८०÷८१) देखि निर्माण सुरु गर्ने लक्ष्यका काम भइरहेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ । पहुँचमार्ग पूरा हुनेलगतै आयोजनाको सिभिल संरचनाको काम सुरु हुनेछ । आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गा मध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए ।
दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा रहेको छ । वातावरणीय अध्ययन कार्यको लागि वन मन्त्रालयले मागेको सुझाव दिएर सकिएकोले प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पघि अघि बढाएको छ ।









