वीर अस्पतालमा अप्रेसनका लागि पालो कुर्नु नपर्ने

काठमाडौँ ः वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताउनुभयो । उहाँले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थ्रेटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको जानकारी दिनुभयो ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ ।

‘‘अप्रेसनका लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्र्न सक्ने कुरालाई लिएर डकुमेण्ट समितिबाट प्राप्त भएको छ ।,’’ डा. पौडेलले भन्नुभयो, ‘‘हामीले सबै ठाउँमा विस्तारीत अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा सुरु गर्ने भन्ने सोचाइमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटील र यथाशिघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’’

डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकेकिएको बताउनुभयो । उहाँले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको पनि जानकारी दिनुभयो ।उहाँले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुईरतीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई विस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरुलाई चलायमान राख्नुप¥यो । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडि बढेका छौँ ।,’’डा. पौडेलले भन्नुभयो, ‘‘त्यो चाहीँ फुल फङ्सनमा गइसकेको छैन । त्यसको पार्सियल्ली काम भइसक्यो । केही डिपार्टमेण्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन सुरु गरिसक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको सुरुवात गर्र्न खोज्दैछौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् । अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनका लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ । त्यसका लागि अहिले योजनामा छौँ ।’’

आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको डा. पौडेललको भनाइ छ । उहाँले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताउनुभयो ।

उहाँले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताउनुभयो । डा. पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको उहाँले जानकारी दिनुभयो । वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शय्या सञ्चालनमा आएको छ ।

वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ । निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौति सृजना भएको बताउनुभयो ।

डा.पौडेलले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको धारणा राख्नुभयो । आकस्मिक सेवा बापत अघिल्लो वर्ष करिब आठ करोड २० लाख रुपियाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा एक करोड १५ लाख रुपियाँ मात्रै दिएको बताउनुभयो । आकस्मिक सेवातर्फ ५२ शय्या सञ्चालनमा छ ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने गुनासो उहाँको छ । डा.पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोत भर्ना हुने आश्वासन पाएको बताउनुभयो ।

अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ । गोरखापत्र





error: Content is protected !!