नदीमा बालुवा झिक्ने क्रममा किशोरीको मृत्यु

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा झिक्न गएकी किशोरीको नदीले बगाउँदा मृत्यु भएको छ । मृत्यु हुनेमा कनकासुन्दरी–६ दाँतेओखर गाउँकी १७ वर्षीया मैना सार्की छिन् ।
ुबालिका हिमा नदीको लौडीसेन भन्ने स्थानमा बालुवा उतारिरहेकी थिइन्,ु स्थानीय करबहादुर वर्डले भने,‘त्यहीबेला नदीको छालले चिप्ल्याएर उनलाई बगाएको थियो ।’ करिब तीन सय मिटर तलसम्म बगाएपछि बालिकाको मृत्यु भएको उनले बताए । मृतक बालिका पाण्डवगुफा माद्यमिक विद्यालय कोटघरमा कक्षा १० मा अध्ययन गर्थिन् ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यका अनुसार किशोरीको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ । पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाउन लागिएको उनले बताए ।










