चार दिन पुग्दा पनि मृतकको पोष्टमार्टम भएन

मुगु ः गत सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाको चार दिन वितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पतालबाट डा. नहकुल शाहीको नेतृत्वमा तीन जना चिकित्सक मंगलबार नै स्वास्थ्य चौकी तारापानीमा पुगे पनि आफन्तहरुले शव बुझ्न नमान्दा पोष्टमार्टम हुन नसकेको हो ।
आफन्तहरुले मृतकका शव घर पुगाउने पहल गर्नुपर्ने, परिवारका सदस्यको भरणपोषणका लागि आर्थिक सहयोग गर्नुपर्ने, गाडीधनीले आर्थिक सहयोग दिनुपर्नेजस्ता माँग राखेका छन् ।
परिवारका सदस्यले शव नबुझिदिंदा पोष्टमार्टम हुन नसकेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतकका आफन्तलाई शव बुझी पोष्टमार्टममा सहयोग गरिदिनुस् भनेका छौं । क्षतिपुर्ति, राहत र शव घरसम्म पुगाउन सम्वन्धित निकायसँग जिल्ला प्रशासन कार्यालयले समन्वय गरोस् भनेका छौं ।”
हुम्लाबाट घटना स्थलसम्म आउन तीन दिन समय लाग्छ । शोकमा परेका बेला आफन्तहरु मृतकको दाहसंस्कार गर्नेबारेमा चिन्तित छन् । सरकारले शवलाई घरसम्म पुगाउने व्यवस्था गरिदिएको भए दाहसंस्कार गर्न सहज हुने थियो मृतकका आफन्त दन्तविरे परियारले बताउनुभयो ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउदैगरेको ग १ ज ७७६२ नम्बरको बोलेरो जिप सोरु गाउँपालिका –७ चिप्लेगाडामा दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको मृत्यु भएको थियो । चार जना घाइते भएका थिए ।
घटनामा ज्यान गुमाएका सर्केगाड २ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, सोही ठेगानाका राम परियार र पिउस परियारको शव स्वास्थ्य चौकीमा राखिएको छ । गोरखापत्र










