मुख्यमन्त्रीको जवाफ नआएपछि एमालेले रोक्यो कर्णाली प्रदेशसभा बैठक

सुर्खेत ः कर्णाली प्रदेशसभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ। मुख्यमन्त्री राजकुमार शर्माले जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो। सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजनासहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए।
माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबार नै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडानसम्बन्धी समस्या समाधानको योजनासहित सभामा प्रस्तुत हुनुपर्ने एमालेको माग छ।
अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ। त्यस सम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने एमालेको माग छ। विमानस्थल कार्यतालिका बमोजिम नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ ।
त्यसका कारण हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको एमालेले विरोध गरेको छ । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ । एमालेको अवरोधपछि प्रदेशसभाको बैठक आगामी बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।



