जिल्ला अस्पतालमा विशेष नवजात शिशु हेरचाह कक्ष स्थापना

रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला अस्पताल मुसीकोट नगरपालिका–१, सल्लेमा विशेष नवजात शिशु हेरचाह कक्ष स्थापना गरिएको छ । जिल्ला समन्वय समितिका उप–प्रमुख दिपेन्द्र विकले आज यस कक्षका लागि आवश्यक सामग्री सहितको शिशु हेरचाह कक्ष उद्घाटन गर्नुका साथै हस्तान्तरण गरेका थिए ।
यस कक्षमा आवश्यक पर्ने फोटो थेरापी मेसिन, बेबी वार्मर, इन्कुभेटर लगायतका सामग्रीहरु वन हर्ट वर्ल्ड वाइड र रुकुमेली विकास केन्द्रले अस्पताललाई उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए ।
करिब १२ लाख लागतमा कक्षको स्थापना गरिएको बताउँदै वन हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले अब समय अगावै जन्मिएका शिशुहरुमा हुनसक्ने विभिन्न जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । ‘अस्पतालमा अहिले महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा छ । यहाँबाट जन्मिएका नवजात शिशुको जन्मपछि हुनसक्ने जोखिम कम गर्न यसले ठूलो सहयोग गर्नेछ, उनले भने, ‘कम तौलका बच्चाहरुमा देखिन सक्ने जन्डिस, निमोनिया र श्वासप्रश्वास समस्या निवारणमा गर्न यो कक्ष र यहाा रहेको सामग्री प्रयोग गरिने छ ।










