परिवारबाटै महिला असुरक्षित

सुर्खेत : सुर्खेतको पश्चिम क्षेत्र पञ्चपुरी नगरपालिकास्थित सालकोटका एकल पुरुषले सम्बन्धविच्छेद भएकी महिलासँग २०७८ माघमा विवाह गरे। ती महिलाको साथमा अघिल्लो श्रीमानका तर्फबाट १३ वर्षीय छोरी पनि थिइन्।
आमा घरमा नभएको समयमा श्रीमतीको अघिल्लो श्रीमानतर्फकी छोरीलाई बलात्कार गर्दै आएका थिए। बलात्कारको घटना आफन्तले देखेपछि बालिकाको तर्फबाट जिल्ला अदालत सुर्खेतमा बलात्कार मुद्दा दर्ता भयो। बलात्कारी बाबुलाई अदालतबाट कैद सजाय भएको छ। जिल्ला अदालत दैलेखले छोरी बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजायको फैसला गरेको छ। बलात्कार पुष्टि भएपछि आरोपित बाबुलाई अदालतले हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेर अनुसारको करणी मुद्दामा आठ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाएको हो।
जेठ महिनामा सल्यानमा १४ वर्षीय बालिका सामूहिक बलात्कारमा परेको खबर बाहिरियो। उनलाई नजिकैका २१ र १७ वर्षीय किशोरले बलात्कार गरेका थिए। साथीको घरमा भएकी बालिकालाई घरमै बोलाएर कोही नभएको मौका छोपी बलात्कार गरेको बयान प्रहरीलाई दिएका थिए।
यस्तो छ प्रहरी तथ्याङ्क
माथि उल्लिखित घटना केही प्रतिनिधिमूलक मात्र हुन्। यी घटनाले आफ्नै समुदाय र परिवारमा महिला सुरक्षित छैनन् भन्ने दृष्टान्त प्रकट गर्दछ। आव २०७९/८० मा कर्णाली प्रदेशभर महिला तथा बालबालिकासम्बन्धी ६३९ मुद्दा प्रहरीमा दर्ता भएका थिए। तीमध्ये २०७ जबरजस्ती करणीसम्बन्धी मुद्दा थिए। जसमध्ये सुर्खेतमा सबैभन्दा बढी ८८ र सबैभन्दा कम डोल्पामा एउटा मुद्दा दर्ता भएको छ। सल्यानमा २३, दैलेखमा १८, रुकुमपश्चिममा १७, जाजरकोटमा नौ, कालीकोट १७, जुम्लामा १८, मुगुमा सात र हुम्ला नौ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार २३४ वटा प्रतिवादीमध्ये १७९ जनालाई प्रहरीले पक्राउ गरेको छ। ५५ जना अझै फरार छन्। प्रतिवादीमध्ये छिमेकी तथा चिनजानका व्यक्ति १५९ जना, चिनजान नभएको ६३ जना, नजिकका नातेदाररहाडनाता १२ जनाबाट जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जबरजस्ती करणीको घटनाबाट सबैभन्दा बढी १०–१६ उमेर समूह बालिका ९४ जना, १० भन्दा कम उमेरका चार जना, १७–२५ वर्षसम्म ७४, २६–३५ वर्षसम्म २१, ३६–४५ वर्षसम्म नौ, ४६–५९ वर्षसम्म तीन र ६० वर्षभन्दा माथि दुई जना पीडित भएका छन्।
श्रीमतीसँग आएका आश्रित बालिका यौन शोषणमा पर्ने घटना बढेको अधिवक्ता दुर्गा सापकोटाले बताउनुभयो। उहाँका अनुसार सालकोटमै त्यस्ता प्रकृतिका तीन वटा घटना भएका छन्। सामाजिक समस्या, व्यभिचारलगायतका कारणले बलात्कार घटना हुने गरेका छन्। २० वर्ष पूरा नगरी विवाह भई त्यस्ता घटना मुद्दा दर्ता भएमा कानुनले बलात्कार अपराधका रूपमा पनि हेर्न सक्ने अधिवक्ता सापकोटाले जानकारी दिनुभयो।
पछिल्लो समय त्यस्ता मुद्दा पनि दर्ता हुने गरेकोले बलात्कार सम्बन्धी मुद्दाको सङ्ख्या बढेको बताइन्छ। उहाँका अनुसार कानुनी अभावका कारण अपराध बढेको देखिन्न, बरु दुरुपयोग बढेको छ। कतिपय सहमतिमा भएका सम्बन्धलाई बार्गेनिङ प्वाइन्ट बनाउने, सम्बन्धलाई अरू कसैले देखेका कारण र दुई व्यक्तिबिचको स्तर नमिलेका कारण पनि मुद्दा दर्ता हुने गरेका छन्। गोरखापत्र










