इमरान खानलाई जेलमा झिङ्गा र लामखुट्टेले सताएपछि…

एजेन्सी ः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अटक जेलबाट निकाल्न माग गरेका छन्। दिनमा झिङ्गा र रातमा लामखुट्टेले दु्ःख दिएपछि उनले आफ्ना वकिलसमक्ष जेलबाट निकाल्न माग गरेका हुन्।
जियो न्यूजले अटक जेल स्रोतलाई हवाला दिँदै पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पीटीआई) का अध्यक्ष खानले आफ्ना कानुन व्यवसायी समक्ष आफू जेलमा बस्न नचाहेको बताएका थिए। उनले भने, ‘मलाई यहाँबाट निकाल्नुस्, म जेलमा बस्न चाहन्न।’
खानका वकिल नइम हैदर पंजोठालाई जेल प्रशासनले सोमबार उनीसँग भेट्ने अनुमति दिएको थियो। खानलाई भेटेपछि उनले भने, ‘पूर्वप्रधानमन्त्रीलाई धेरै खराब अवस्थामा राखिएको छ । उहाँलाई जेलमा सी क्लासको सुविधा दिइएको छ।’
यसका बाबजुद इमरान खानको आत्मविश्वास बलियो रहेको र गुलाम भएर बस्नुभन्दा पूरै जिन्दगी जेलमा बिताउन तयार रहेको उनले बताए।
पूर्वप्रधानमन्त्री खानमाथि सन् २०१८ देखि २०२२ को बीचमा प्रधानमन्त्री पदमा रहँदा सरकारी खजानामा भएका उपहार खरिद र बिक्री गर्नका लागि आफ्नो शक्ति दुरुपयोग गरेको आरोप छ। यी उपहार उनलाई विदेश यात्राका क्रममा मिलेका थिए, जसको मूल्य १४ करोड पाकिस्तानी रूपैयाँ पर्छ।
पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूलाई प्राप्त हुने उपहार सरकारी खजाना तोशखानामा जम्मा गर्ने नियम छ।
पाकिस्तानको एक अदालतले खानलाई तोशखाना दुरुपयोगको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ । शनिबार इस्लामावादको स्थानीय अदालतको फैसला आएको केही समयपछि ७० वर्षीय खानलाई उनको आफ्नै घरबाट पक्राउ गरिएको थियो।
उनले आफूलाई सुनाइएको सजायको विरोधमा उच्च अदालतमा अपिल गरेका छन्।








