एकै रातमा सात घरमा आगजनी गरेको आरोपमा पक्राउ

जुम्ला ः चन्दननाथ नगरपालिका-१ र गुठीचौर गाउँपालिका ४ का सातवटा घरमा आगजनी गरेको आरोपमा चन्दननाथ(२ भण्डारीबाडाका ३० वर्षीया रत्नप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारीलाई सार्वजनिक गरिएको हो । प्रहरी नायव उपरीक्षक डीएसपी प्रल्हाद कार्कीले प्रारम्भीक अनुसन्धानका क्रममा रत्नप्रसाद अधिकारीले सबै घटना आफू एक्लैले गरेको बयान दिएपछि प्रहरीले सार्वजनिक गरेको बताए । अधिकारीको पुर्ख्यौली घर गुठीचौर ४ उखाडी रहेको छ । उनी श्रीमतीका बाआमासँगै बस्न चन्दननाथ २ भण्डारीबाडामा आएका थिए ।

साउन ६ गते एकैपटक गुठीचौर ४ का लालचन्द्र सार्की, कविदत्त न्यौपाने, धवलपुरका खडानन्द पाण्डे, प्रेमप्रसाद न्यौपाने, डाँडाबाडाका कविदत्त न्यौपाने र चन्दननाथ नगरपालिका १ रानाका रतनबहादुर बुढाको घरमा आगजनी गरिएको थियो । एकै रात विभिन्न गाउँका सातवटा घरमा आगजनी भएपछि स्थानीय त्रासित बनेका थिए ।

डीएसपी कार्कीले भने, ‘प्रारम्भिक अनुसन्धानमा अधिकारीले आफू गरिब भएको र ऋण र उधारो कसैले नपत्याउने भएकोले निराश भइ आगजनीको क्रियाकलापमा लागेको स्वीकारेका छन् । पछिल्लो समयमा गुठीचौर गाउँपालिका क्षेत्रमा भएका सबै आपराधिक क्रियाकलापको जिम्मा लिएका छन् । ’

साउन ६ गते नै उनले गुठीचौर ५ को धितालगाउँ नजिकै पार्किङ गरेर राखेको रारा तेन्जिन कन्ट्रक्सनको ट्याक्टरमा समेत आगो लगाएको वयान दिएको डीएसपी कार्कीले बताए । डीएसपी कार्कीले भने, ‘अनुसन्धानमा आगजनी गर्दा देखिएका घरहरुको अवस्था, भेटिएका मानिसहरुदेखि प्रयोग गरिएको बाटो र आगजनी गर्दा बोकेका सामानहरुको बारेमा स्पष्ट वयान दिएका छन् ।’

रत्नप्रसादले ६ गते चन्दननाथ १ रानास्थित एक घरमा ढोका ढकढकाएर त्रास देखाएका थिए । स्थानीयलाई प्रहरीले फोन गरेपछि गएको प्रहरी टोलीमाथि समेत लाठीले प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा कसुर दर्ता गरेर अनुसन्धान बढाएको छ ।

वयानका क्रममा अधिकारीले असार २६ गते गुठीचौर ४ बालुस्थित कृष्णबहादुर अधिकारीको पसलमा चोरी गर्न गएकोमा ताला फोड्न नसकेपछि पार्किङ गरिएको अटो रिक्सामा समेत आगजनी गरेको स्वीकारेका छन् । अटो रिक्साका मालिक कृष्णबहादुर अधिकारीले उनको नाममा जाहेरी दिए पनि प्रहरीले आपराधिक उपद्रव शीर्षकमा कसुर दर्ता गरी अनुसन्धान गरेको थियो । अटोरिक्सा घटनाको अनुसन्धान गर्दा उनले सबै घटना आफैंले गराएको खुलाए, डीएसपी कार्कीले भने, ‘अधिकारीले अनुसन्धानमा दिएको वयान र स्थानीयको घरमा आगजनी हुँदाको अवस्था बुझ्दा सबै मिल्न गएपछि सार्वजनिक गरिएको हो । ’ उनी नेपाली सेनामा कार्यरत भएर स्वास्थ्यका कारण उपदान लिइसकेका व्यक्ति हुन् ।

चन्दननाथ १ रानास्थित साउने कामीको गुठीचौर ५ मा रहेको आटीमा असार २ गते उनकी श्रीमतीले लगाएको गरगहना लुट्ने योजना बनाएको र सो गोठमा कोही नभएको अवस्थामा गोठ नै जलाइदिएको बताए । साउन ५ गते राति चन्दननाथ १ डुडखोचस्थित रतनबहादुर बुढाको घरमा झरो र लाइटरको प्रयोग गरेर आगजनी गरेको र जंगलको बाटो प्रयोग गरेर गुठीचौरमा गएर सात घरमा आगो लगाएको वयान दिएको प्रहरीले जनाएको छ ।

आगजनीपछि गुठीचौर ४ मा नियमित प्रहरीले गस्ती गरिरहेको छ । स्थानीयले आगजनी गर्ने व्यक्तिको खोज अनुसन्धानको लागि माग गरेर सुरक्षित रुपमा बस्त पाउनुपर्ने माग गरेका थिए । आगजनीमा संलग्न अधिकारीलाई पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!