लगातारको वर्षाले क्षति

रुकुमपश्चिम ः शुक्रबारदेखिको लगातार वर्षाले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा भौतिक तथा पशुपन्छीमा क्षति पुर्याएको एको छ। पहिरोमा केही घर, गोठ र घट्ट भत्किँदा गाई र कुखुरा पुरिनुका साथै खेती नष्ट भएका छन्। त्रिवेणी गाउँपालिका–५ का अध्यक्ष रनबहादुर पुनका अनुसार वडावासी बलाराम विकको घर भत्किएको छ। घरमा भएको अन्नपात र सरसामान पूर्ण रूपमा क्षति भएको छ। बलारामको परिवार आफन्तको घरमा सहारा लिएर बसेका छन्। शनिबार राति स्थानीय डिल्लीबहादुर ओलीको गोठघर पहिरोले पुरिँदा एक वटा दुहुनो गाई र केही कुखुरा मरेका छन्। गोठमा राखिएको अन्नपातसमेत पहिरोमा पुरिएको छ।

उहाँका अनुसार लगातारको वर्षाले सो वडाका १५ घरमा पहिरोले आंशिक क्षति गरेको छ। कुनै घरको भित्ता चर्किएर बस्न नमिल्ने भएको छ। वडाका दमाई टोल र पल्लोडेराटोलसमेत पहिरोको जोखिममा रहेका छन्। गाउँपालिका केन्द्रबाट वडामा सञ्चालन हुने सडकसमेत अवरुद्ध रहेको छ।

वर्षाका कारण त्रिवेणी गाउँपालिका–८, गरेनाका पहलसिंह खड्काको दुईतले घर भत्किएको छ। घरमाथिबाट खसेको पहिरोले घरमा पूर्ण रूपमा क्षति पुगेको जनाइएको छ। फागुन महिनामा निर्माण गरिएको घर छ महिना नपुग्दै पहिरोले पूर्ण रूपमा क्षति गरेको वडाध्यक्ष नन्नराम खड्काले जानकारी दिनुभयो। पहिरोले घरभित्र रहेका सामान, अन्न, लत्ताकपडा पुरिएका छन्।

घरमा पूर्ण रूपमा क्षति पुगेपछि पहलसिंहको पाँच जनाको परिबार आफन्तको घरमा शरण लिएर बसिरहेका छन्। शनिबार नै राति आएको पहिरोले त्रिवेणी गाउँपालिका–१०, मान्टुराका सपबिर ओलीको दुई वटा पानीघट्ट, पिस्न लगिएको स्थानीयको करिब दुई सय किलो अन्न पनि पुरिएको छ। ओलीकै मान्टुरामा रहेको चार रोपनी खेतमा लगाएको धानबालीसमेत पुरिएको बताइएको छ।

हुम्ला समाचारदाताका अनुसार अविरल वर्षापछिको पहिरोले तातोपानीको मुहान पुरिएको छ। सर्केगार्ड गाउँपालिका–३ का अध्यक्ष अकिल कार्कीका अनुसार उनापानी खोलामा आएको पहिरोले तातोपानीको मुहान छोपिएको छ। सो तातोपानीको मुहान जिल्ला प्रसिद्ध पर्यटकीय स्थलका रूपमा विकास भइरहेको छ। उहाँका अनुसार उनापानी गाउँका स्थानीयले दैनिक रूपमा प्रयोग गर्ने तातोपानीको मुहान कता पर्छ भनेर पत्ता लगाउनसमेत कठिन भएको छ।

मुहान नदेखिने गरी छोपिएपछि स्थानीयलाई सरसफाइ र कपडा धुनसमेत समस्या भएको छ। पहिरोले मुहाननजिकैको स्नान घरलाई समेत क्षति पु(याएको छ। पहिरोले तातोपानीको मुहानमा जाने बाटोसमेत पहिरोले भत्काएका कारण आउजाउमा समस्या भएको छ। गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!