हुम्लामा पहिरोले बगाएको पाइप संकलन गरी खानेपानी मर्मत

हुम्ला — गत शुक्रबार रातिको अविरल वर्षासँगै आएको पहिरोले बगाएको खानेपानी नेपाली सेनाको नेतृत्वमा मर्मत भएको छ । रिप गाउँ माथिको भिरालो जमिनबाट चार स्थानमा आएको पहिरोले सो गाउँका २ सय २० घरधुरीको लागि ल्याइएको खानेपानी बगाएको थियो ।
गाउँमा वितरण भइरहेको खानेपानी पहिरोका कारण बन्द भएपछि पहिरो प्रभावित क्षेत्रको अनुगमन र उद्धारको लागि शनिबार सदरमुकाम सिमकोटबाट नेपाली सेनाका उपसेनानी पवन पन्तको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले खानेपानी मर्मत कार्य सुरु गरेको हो ।
पहिराले रिपगाउँमा आउने खानेपानीको पाइप र मूल ट्यांकी बगाएपछि बन्द भएको खानेपानी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा पहिरोले बगाएको पाइपका टुक्रा संकलन गरी नेपाली सेनाको अगुवाइमा मूलमा पाइप जोडेर सिधैं गाउँमा पानी पुर्याएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
ठूलो पहिरोका कारण तत्कालै व्यवस्थित गर्न नसके पनि पाइपको माध्यमबाट गाउँमा खानेपानी झारिएको हो । सर्केगार्ड गाउँपालिका–२ को रिपगाउँको खानेपानी पहिरोले बगाएपछि खोलाको लेदो मिसिएको पानी खान बाध्य भएका स्थानीयले ३ दिनपछि सफा पानी खान पाएका छन् ।
पहिरोको कारण रिप गाउँ नै जोखिममा भए पनि विद्यालयभन्दा माथि रहेका चालिस घरधुरी भने उच्च जोखिमका कारण घर छोडेर आफन्तको घरमा शरण लिँदै आएका छन् । पहिरोले गाउँमा जाने सबै बाटो बन्द भएका छन् भने रिपगाडमा रहेको विद्युत्लाई समेत क्षति भएकाले पूरै गाउँ बिजुलीविहीन भएको छ ।
पहिरोको त्रासले अधिकांश स्थानीयले शनिबार बिहानबाट खाना खान समेत सकेका छैनन् । शनिबार बेलुका पहिरोले पुर्याएको क्षतिको अवस्थाका बारेमा बुझ्न हेलिकप्टरमा सेनानी दिनेश खड्काको नेतृत्वको टोलीले अनुगमन गरी फर्किए पनि शनिबार सदरमुकाम सिमकोटबाट पैदल गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ७० जनाको टोली बाटो बन्दले जना नसक्दा आइतबार दिउँसो मात्र पहिरो प्रभावित क्षेत्र रिप गाउँ पुगेको हो । गाउँ पुग्ने बित्तिकै पहिला खानेपानीको व्यवस्थापनमा लागेको उपसेनानी पवन पन्तले बताए ।
बर्सेनि हुने मौसमजन्य घटनाहरुबाट भइरहेको क्षति न्यूनीकरण अबका विकास निर्माणका क्रियाकलापमा विपद् जोखिम न्यूनीकरणका पक्षहरूलाई गम्भीरतापूर्वक समेटिनु पर्ने र प्रत्येक स्थानीय तह अन्तर्गत रहेका समुदायस्तरमा विपद् सम्बन्धी सचेतनाका कार्यक्रम नियमित गरी खोज तथा उद्धारका लागि छुट्टै जनशक्तिको दस्ता स्थापना गर्नुपर्ने र बाढी पहिरो आउने सम्भावित स्थान पहिचान गरी ती स्थानमा सुरक्षित आश्रयस्थलको निर्माण गरिनु अति आबश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ पौडेलको भनाइ छ ।









