चौरजहारीबाटै सवारी चालक अनुमति पत्र बितरण सुरु

रुकुम पश्चिम ः रुकुम पश्चिमको चौरजहारीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने कार्य आइतबारबाट शुभारम्भ भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमका बीच चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयबाट लाइसेन्स जारी प्रक्रियाको शुभारम्भ गरेका हुन् ।
योसँगै आइतबारबाट लाइसेन्सका लागि बायोमेट्रिक शुरु भएको छ । पहिलो सेवाग्राहीका रुपमा आठबीसकोट नगरपालिकाका सुदिप ओलीको बायोमेट्रिक गरिएसँगै चौरजहारीबाटै लाइसेन्स वितरणको प्रक्रिया शुरु भएको हो ।
लाइसेन्सका लागि साउन २ गतेदेखि अनलाइन फारम खुला भएको थियो । अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिए ।
बायोमेट्रिकपछि लिखित परीक्षा सञ्चालन हुने र त्यसपछि ट्रायल हुने उनको भनाइ छ । अहिलेलाई ट्रायल सेन्टर भाडामा लिइएको छ । अब चौरजहारीबाटै मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स प्राप्त हुने उनले बताए ।



