सेरी सिंचाई कुलो निर्माणले उत्पादनमा दोब्बर बृद्धि

हुम्ला ः आरसीसी नहर भएको सिंचाई कुलो निर्माणले किसानलाई खेती गर्न सजिलो मात्र होइन बाली उत्पादनमा पनि दोब्बर बृद्धि भएको छ ।
आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने किसानलाई सिंचाई कुलोले गर्दा आवश्यकता अनुसार बाली लगाई उत्पादनमा बृद्धि भएको हो । ताँजाकोट गाउँपालिका– ५ का किसान भरत बुढाले सिंचाई कुलो निर्माणले खेती गर्न सजिलो र आवश्यकता परेको बेला सिंचाई गर्न सहज भएको बताउनुभयो ।
यसअघि उहाँले खेतीपाती गर्न आकाशे पानीको भर पर्नु परि रहेको अवस्थामा सिंचाई कुलो निर्माणले त्यो समस्या हटेको बुढाले बताउनुभयो । ‘‘गत वर्षभन्दा यसवर्ष उवा र गहुँ (जेठासी) बाली दोब्बरले बृद्धि भएको छ । यसले किसानहरु निक्कै खुसी छन् । सिंचाईले किसानलाई जेठासी र कातिके बाली लगाउन सहज भएको छ,’’ बुढाले भन्नुभयो ।
खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय प्रमुख अकल महतले दुई आर्थिक वर्षमा खाजी खोलादेखि सेरी सिंचाई आयोजना सम्पन्न भएको बताउनुभयो । यो सिंचाई आयोजना आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएर २०७८/०७९ मा सम्पन्न भएको हो ।
स्थानीय उपभोक्ता समीतिमार्फत निर्माण कार्य भएको सिंचाई आयोजनाका लागि कार्यालयले एक करोड पाँच लाख रुपियाँ बजेट खर्च गरेको थियो । यसबाट इन्टेक निर्माण र एक हजार मिटर आरसीसी नहर निर्माणका साथै आवश्यक स्थानमा सुख्खा गाह्रा समेत निर्माण गरिएको छ । महतलले यो आयोजनाले २० हेक्टर खेती योग्न जमिन सिंचित भएको जानकारी दिनुभयो ।
उहाँले आकाशे पानीको भरमा खेती हुने सेरीमा सिंचाई आयोजना सम्पन्न भएर सञ्चालनमा आउदा उत्पादनमा पचास प्रतिशतसम्म बृद्धि भएको बताउनुभयो । यसबाट सेरी गाउँका सत्तरी भन्दा बढी घरधुरी प्रत्यक्ष लावान्भित भएका छन् ।










