नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले हाले मुद्दा

कालीकोट ः कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाविरुद्ध उच्च अदालत जुम्ला इजलासमा मुद्दा दर्ता भएको छ । नगर प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो स्वार्थपूर्तिका लागि नगर सभामा भएका निर्णयलाई बदर गर्दै आफु अनुकुल वजेट र योजना बनाएको आरोपमा १० जना वडा अध्यक्षले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

नौ जना वडा अध्यक्षले सयुक्त रुपमा नगरपालिकालाई विपक्ष बनाएर बिहीबाार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गराएका छन । खाँडाचक्र नगरपालिकाले असार १० गते बेलुकी झन्डै दुई घण्टा नगरसभाको उद्घाटन मात्र गरेर नगरसभा सम्पन्न भएको जनाएको थियो । उद्घाटन सत्रमा गरिएको माइनुटमै प्रमुख र उपप्रमुखले आर्थिक वर्ष २०८०/८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप वडा अध्यक्षको छ ।

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, नागरिकमुखी नभई जनप्रतिनिधिमूलक बजेट बनाएको लगायतका विषयमा नगरपालिकाका ११ जना वडाध्यक्षको समर्थनमा १० जनाले मुद्दा दर्ता गराएका हुन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले खर्च गरेको बजेट तिर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७९/८० मा कुनै पनि ठूला योजनामा काम नगरेको नगपालिकाले यस वर्ष पनि पाँच करोड रुपियाँ भन्दा बढी पुरानो तिर्नुपर्ने वजेट देखाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख र उपप्रमुखले कुनै पनि कार्य नगरेकाले अदालतसम्म पुग्नुपरेको वडाध्यक्षहरुको भनाई छ । वडा नं ६ का अध्यक्ष दिनेशबहादुर शाहीले भष्ट्राचार गर्ने मनसायले तिर्न नपर्ने वजेट तिर्नु पर्ने भनि बिनियोजन गरेको बताउनुभयो ।

वडा नं ४ का अध्यक्ष प्रभानन्द आचार्यले नगरसभा उद्घाटन सत्रको उपस्थीतीको तल आफु अनुकुल वजेट वाँडफाँड गरेको सिलिङ टाँस गरि नगरप्रमुख र उपप्रमुख दुवै जना जिल्ला बाहिर गएको बताउनुभयो ।

पटक पटक फोन गरेर वजेट सच्चाउन अनुरोध गर्दा नमानेपछि अदालत पुग्नु परेको जानकारी दिनुभयो । उता नगर प्रमुख कमलबहादुर शाहीले नगरप्रमुख र उपप्रमुखबिरुद्ध नभएर उनीहरु बिरुद्धको पनि उजुरी भएको बताउनुभयो ।

उजुरी नगरपालिकाबिरुद्ध भएकाले उनीहरु पनि नगरकार्यपालिका सदस्य भएकाले यो उजुरी उनिहरुबिरुद्धको पनि भएको दावी गर्नुभयो । उनीहरुलाई नै १८ गते अदालतले बोलाएकाले उनीहरुबिरुद्धकै उजुरी भएको नगरप्रमुख शाहीको भनाई छ ।

नगरप्रमुख शाहीले हामीले जनताको काम गर्ने हो, वडा अध्यक्षलाई खानका लागि वजेट आफुले नवाड्ने कुरा साँचो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ विकास नगरबाटै हुन्छन् । वडामा वजेट लिने र आफै पाईप खरिद गरेर भष्ट्राचार गर्ने वानी परेको छ । यस्ताले आपत्ति जनाउँदैमा केही हुँदैन ।’’स्रोत ः गोरखापत्र





error: Content is protected !!