खेतमा खपटे किराको प्रकोप तीव्र

सल्यान ः जिल्लाको शारदा नगरपालिका वडा नम्बर १४ का जोगदेखोला, स्यालपानी, बरला आपसापका क्षेत्रको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । शारदा नदीको किनारमा भएका खेतमा किराको प्रकोप तीव्र रुपमा फैलिएको छ । किराको प्रकोपका कारण अहिले १ सय किसान परिवार प्रभावित भएका छन् ।

तीब्र रुपमा फैलिरहेकाले आसपासका किसान समेत चिन्तित भएका छन् । अहिले वर्षात् भइरहेकाले र किसानले रासायनिक मल प्रयोग गर्दा खपटे किराको प्रकोप चारैतिर फैलिएको जानकार बताउँछन् ।

खपटेकिराका कारण बरला, स्यालपानी र जोगदेखोला आसपासमा किसानले लगाएको झन्डै ५ हेक्टर भन्दा बढी खेतमा लगाएको धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानका वसन्त रेग्मीले बताए । खपटे किराको लार्भाले हरियो भाग खाँदा धानका पात सुक्दै गएको र बयस्क किराले धानको टुप्पा खाने गरेको उनले जानकारी गराए ।

उनका अनुसार किसानले रोग र किरा लागेको अवस्था छुट्याउन नसकी फाट्टफुट्ट किरा देखिएको बेला रासायनिक मल प्रयोग गर्दा खपटे किरा तीब्र रुपमा फैलिरहेको हो । किरा नियन्त्रणका लागि किसानलाई विभिन्न किसिमका सल्लाह र विषादी उपलब्ध गराएको उनको भनाइ छ ।

खेतमा लगाएको धानबालीका पात सुक्दै गएको भन्दै किसानले खबर गरेपछि किसानको खेतमा पुगेको र रोग नभई किराको प्रकोप देखिएकाले किरा नियन्त्रणका लागि विषादी र विभिन्न सल्लाह दिएको शारदा नगरपालिका सल्यानका कृषि शाखा प्रमुख प्रकाश खड्काले बताए । विषादी छरेर किरा नियन्त्रणमा आउने उनले जानकारी गराए । खपटे किराका कारण धानका पात सुक्दै गएपनि त्यसले खासै असर नपुर्याउने उनको भनाइ छ ।





error: Content is protected !!