बन्गाड खोलामा बाढीले बगाएका बालकको उद्धार

सल्यान ः अविरल वर्षासँगै सल्यानको बन्गाड खोलामा आएको बाढीले बगाउँदै गरेका बालकलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेका छन् ।
बन्गाड कुपिण्डे नगरपालिकास्थित बन्गाड खोलामा माछा मार्न गएका बेला बन्गाड कुपिण्डे नगरपालिका १ का ११ वर्षीय सन्देश बोहरा र १० वर्षीय आयुष पुनलाई प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।
बोहरालाई खोलामा आएको बाढीले बगाइरहेको थियो भने पुन खोलाको बीच भागमा फसेका थिए । इलाका प्रहरी कार्यालय सल्यानका इन्चार्ज ऋषिराम दाहालका अनुसार दुवै बालक वर्षे बिदा मनाउन बन्गाड खोलामा माछा मार्न गएका थिए ।
बन्गाड खोलामा एक्कासी बाढी आउँदा आयुष पुन खोलाको बीचमा रहेको ढुंगामा फसेका थिए भने सन्देश बोहरालाई खोलाले बगाएर करिब ४० मिटर तल पुर्याएको थियो ।
माछा मार्दै गरेका अन्य केही स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सल्लीबजारको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुवै बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको पनि जनाएको छ ।
वर्षाका कारण स्थानीय खोला र भेरी नदीमा पानीको सतह बढेकाले बाढी आउन सक्ने भन्दै बालबालिकालाई खोला नजिक जान नदिन पनि प्रहरीले स्थानीयहरूलाई आग्रह गरेको छ ।



