मुडकेचुला गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम

मोहन जंग शाही
डोल्पा, ११ साउन ः मुड्केचुला गाउँपालिका डोल्पाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरि पढाई सुरु गरेको छ । यहाँका ८ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने मुड्केचुला गाउँपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि ‘ स्थानीय पाठ्यक्रम’ निर्माण गर्न लागेको हो ।
मुलुक संघीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार मुड्केचुला गाउँपालिकाले आधारभूत तहमा ‘ स्थानीय पाठ्यक्रम’ निर्माण गर्न लागिएको शिक्षा शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको प्रमुख बुढाले बताउनुभयो । आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने उहाँको भनाइ छ ।
आधारभूत ‘ स्थानीय पाठ्यक्रम’मा स्थानीय भेषभुषा, कला संस्कृति, धार्मिक महत्व र इतिहासका विषयसँगै स्वास्थ्य, लैगिक हिंसा, जातीय विभेद लगायतका विषय समावेश गरिएको र विज्ञहरूसँग परामर्श गर्दै छोटो समय र न्यून रकममा प्रभावकारी काम गरिएको लागिएको बुढाले बताउनुभयो ।
गाउँपालिका शिक्षा शाखा प्रमुख बुढाले स्थानीय पाठ्यक्रम निर्माण गर्नु आफैँमा चुनौती भए पनि गाउँपालिकाले आफ्नै आधारभूत पाठ्यक्रम निर्माण गरेको उहाँले बताउनुभयो ।
बैशाख १ गते बाट लागू गर्ने गरी कामको सुरु गरिएको भएपनि तयारी नपुग्दा साउनमा आएर पाठ्यक्रम विद्यार्थीको हातमा पुगेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । आफ्नै पाठ्यक्रम बनाउन सुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहको रुपमा मुड्केचुला रहेको छ ।



