१०६ मेगावाटको जगदुल्ला निर्माण आगामी वर्षबाट, उत्पादन लक्ष्य २०८६ असारको

काठमाडौं ः जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण अघि बढाउने तयारी थालेको छ। कम्पनीले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
सम्भाव्यता अध्ययन भएको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार भए पनि स्वीकृत हुन बाँकी छ। प्रतिवेदन स्वीकृतिका लागि कम्पनीले वन तथा वातावरण मन्त्रालय पठाएको छ। मन्त्रालयले स्वीकृतिका लागि प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
आयोजना निर्माण र कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए सात दिनभित्र लिखित रायरसुझाव पेस गर्न मन्त्रालयले सरोकारवालालाई अनुरोध गरेको छ। स्वीकृति पाएपछि निर्माणको प्रक्रिया अघि बढाउने कम्पनीको तयारी छ।
प्रस्तावित आयोजना डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिका भएर बग्ने जगदुल्ला नदीमा बन्नेछ।
आयोजनाको बाँधस्थल जगदुल्ला-३ को हुरिकोट गाउँनजिक निर्माण हुनेछ। आयोजनाको डुबान क्षेत्र जगदुल्ला गाउँपालिका वडा नम्बर १, २ र ३ तथा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछ।
यो आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। अहिले कम्पनी लगानीको अन्तिम टुंगो (फाइनान्सियल क्लोजर)को तयारीमा छ। करिब एक महिनामा फाइनान्सियल क्लोजर गर्ने तयारी कम्पनीको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीयकरण (कन्सोर्टियम फर्म) गर्ने तयारी भएको छ। त्यसका लागि छलफल समेत भइसकेको छ।
नबिल बैंकले सहवित्तीयकरणको सह-नेतृत्व गर्नेछ। हाइड्रो-इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चय कोषलगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु सहवित्तीयकरणमा सहभागी हुनेछन्।
आयोजना निर्माणका लागि करिब २३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ। १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउने योजना छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सञ्जय सापकोटाले यो वर्ष बोलपत्र निकालेर सम्झौता लगायत तयारीको काम हुने बताए। आर्थिक वर्ष २०८१/८२ बाट निर्माणको चरणमा जाने कार्यतालिका कम्पनीले बनाएको छ। पीपीए अनुसार २०८६ असार मसान्तबाट आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नेछ।
इन्जिनिरियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा ठेक्का निकाल्ने तयारी छ। यस्तो मोडलमा ठेक्का निकाल्दा डिजाइन, निर्माणदेखि निर्माण र सञ्चालनसम्मको काम गर्नुपर्छ।
निर्माण कम्पनीलाई बढी जिम्मेवार बनाउन यस्तो मोडलमा ठेक्का लगाउन लागिएको हो। यस्तो मोडलमा सिभिल र हाइड्रो मेकानिकलको ठेक्का निकाल्न लागिएको हो।
अहिले पूर्व तयारीको काम धमाधम भइरहेको छ। आयोजना साइटसम्म पुग्नका लागि करिब १० किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्नेछ भने ९ वटा बेलिब्रिज राख्नुपर्नेछ। बेलिब्रिज निर्माणको काम सुरु भइसकेको छ। पहुँचमार्ग निर्माणको काम सँगसँगै क्याम्प निर्माणको काम भइरहेको छ।
त्यसैगरी मुख्य परामर्शदाता समेत छनोटको काम भइरहेको सापकोटाले बताए। उनका अनुसार कम्पनीले विद्युत विकास विभागसमक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स)का आवेदन दिइसकेको छ।
यो अर्ध(जलाशय प्रकृतिको आयोजना हो। आयोजनाले सरदर वार्षिक ६१५.३२ गिगावाट घण्टा विद्युत उत्पादन गर्न सक्छ। सुक्खायामको अफ पिक ऊर्जा ८१.०५ र पिक ऊर्जा ११०.५० गिगावाट घण्टा उत्पादन हुनेछ।
वर्षायाममा ४२३.७७ गिगावाट घण्टा उत्पादन हुनेछ। यो आयोजनाको लगानी उठ्ने अवधि सामान्य ६.२५ वर्ष र डिस्काउन्टेटमा ९.५३ वर्ष रहेको छ।
जडित क्षमता धेरै देखिए पनि अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित छन्। वर्षायाममा पूर्ण क्षमतामा उत्पादन भएको भए पनि हिउँदमा ३० प्रतिशतमा उत्पादन खुम्चिन्छ।
सोही कारण हिउँदमा भारतबाट आयात गरिरहनु परेको छ। हालको कुल उत्पादन करिब २ हजार ७०० मेगावाट पुगेको भए पनि गएको हिउँदमा ४५० मेगावाट दैनिक आयात भएको थियो। अर्ध(जलाशय प्रकृतिका आयोजनाले हिउँदको मागलाई केही हदसम्म सम्बोधन गर्नेछ।



