वनरक्षकसम्बन्धी विवादित पुस्तकप्रति अधिकारकर्मीहरूको आपत्ति

सुर्खेत — वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएकोमा सुर्खेतका महिला अगुवाहरूले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।
वनसेवाका सहायक संरक्षण अधिकृत राम एकवाल दासद्वारा लिखित गेमस्काउट वनरक्षक पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि सामाजिक संजालमा चौतर्फी आलोचना भएको छ । सामाजिक संजालमा विरोधका साथै महिला अगुवाहरुले पुस्तकका लेखक र प्रकाशक विद्या विकास पब्लिकेसन्सविरुद्ध कानुनी उपचार माग गरेका हुन् ।
अन्तरपार्टी महिला संजालका साथै विभिन्न राजनीतिक दलका महिला संगठनहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएका छन् ।
पाठक वर्गमा गलत ज्ञान दिने, महिलाको चरित्रहत्या गर्ने, महिला अस्मिताको खिल्ली उडाउने उक्त गैरजिम्मेवार अमानवीय शब्दप्रति खेद प्रर्कट गर्दछौं, ध्यानाकर्षणपत्रमा भनिएको छ ।
महिला अधिकारकर्मीहरूले पुस्तक प्रतिबन्ध लगाई लेखक र प्रकाशकलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा महिलाबारे आपत्तिजनक कुरा सोधिएको छ ।



