दुई हप्तादेखि खच्च सलीसल्ला सडक अवरुद्ध

हुम्ला ः दुई हप्तादेखि कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ को खच्चदेखि सलीसल्लासम्मको सडक अवरुद्ध भएको छ । खच्चमा माथिबाट आएको पहिरोले सडक पुरिँदा यातायातका साधन अवरुद्ध हुँदै आएका हुन् ।
सर्केगार्ड गाउँपालिका–१ को तुम्च गाउँका स्थानीय मक्कबीर मल्लले खच्चदेखि सलीसल्लासम्मको सडक दुई हप्तादेखि अवरुद्ध भएको बताउनुभयो । उहाँले खच्चको सडकमा ४० मिटर सडकमा पहिरो आएर सडक भाँसिएपछि यातायात सेवा अवरुद्ध भएको बताउनुभयो ।
हिउँदमा सो क्षेत्रमा सुख्खा पहिरो समेत गई रहन्छ । उहाँले यतिबेला दैनिक वर्षा भई रहने भएको कारण छिनछिनमा पहिरो जाने गरेको बताउनुभयो । पहिरोले भाँसिएको सडकमा मोटर साइकल मात्र आउजाउ गर्न सक्ने तर अन्य कुनै पनि यातायातका साधन जान सक्ने अवस्था नभएको कारण सडक अवरुद्ध भएको हो ।
सुर्खेत र नेपालगञ्जबाट सलीसल्लाका लागि आएका गाडीहरु बालुकुनामै रोकिने गरेका छन् । उहाँले तत्काल पहिरो पन्छाएर सडक सुचारु गर्न सरोकारवाला पक्षलाई माग गर्नुभयो । प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले पहिरोले खच्चमा सडक अवरुद्ध भएको कारण दुई हप्तादेखि सुर्खेत र नेपालगञ्जबाट आएका मालबहाक ४५ वटा ट्रक बालुकुनामा रोकिएको बताउनुभयो ।
सवारी साधन रोकिएपछि चालक तथा सहचालक यतिबेला अलपत्र अवस्थामा बालुकुनामा बस्दै आउनु भएको छ । उहाँले खुलाउने प्रयाय गरिएको भए पनि माथिबाट पहिरो झरी रहने भएका कारण पहिरोले भाँसिएको सडक मर्मत गर्न समस्या देखिएको बताउनुभयो । उक्त क्षेत्रको स्तरोन्नतीको कार्य हिल्सा सिमकोट सडक आयोजनाले गरि रहेको भए पनि पहिरो जाने क्रम नरोकिएकाले मर्मत गर्न समस्या भई रहेको आयोजनाले जनाएको छ ।








