खलङ्गा–पाँचकाटिया सडक कालोपत्रे अलपत्र

जाजरकोट ः खलङ्गा–पाँचकाटिया सडक कालोपत्रेको काम अलपत्र परेको छ। निर्माण व्यवसायीको लापरबाहीले म्याद अनुसार काम सम्पन्न नगर्दा सडक अलपत्र परेको हो। असार मसान्तभित्र साढे पाँच किलोमिटर कालोपत्रे गर्ने भनिएको थियो। शान्तिचौतारादेखि गैरीखालीसम्म एक किलोमिटर बाँनिया महत वली जेभीले कालोपत्रेको काम सम्पन्न गरेको छ। गैरीखालीदेखि दारखोलासम्मको साढे पाँच किलोमिटर सडक ब्रज ग्रुपरबी एन्ड बी जेभी काठमाडौँले कालोपत्रे गर्ने जिम्मा लिए पनि समय अवधिभित्र नगर्दा अपत्र परेको डिभिजन कार्यालय चौरहजारीले जनाएको छ।

सडक डिभिजन कार्यालय चौरहजारीसँग ब्रज ग्रुप बी एन्ड बी जेभी काठमाडौँले २०७८ असोजमा सात करोड ३२ लाख रुपियाँमा सम्झौता गरेको थियो। सो ब्रज ग्रुपरबी एन्ड बी जेभी काठमाडौँले समयमा काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको थियो। सो सडक कालोपत्रे गर्न म्याद थपे पनि म्याद अनुसार काम हुन नसकी अलपत्र पारिएको छ। गत वर्ष काम सम्पन्न गर्ने जिम्मा लिएका निर्माण व्यावसायीले काम नगरेपछि सडक डिभिजन कार्यालय चौरजहारीसँग म्याद थपको अनुमति लिई काम गर्न थालेको थियो। सडक डिभिजन कार्यालय चौरजहारीले २०८० असारमा सडक कालेपत्रे गरेर सडक डिभिजन कार्यालय हस्तान्तरण गर्ने भनिए पनि पुनः काम गर्न म्याद थपका लागि निवेदन दिएको डिभिजन कार्यालय चौरजहारीका कार्यालय प्रमुख आसुतोष कर्णले बताउनुभयो। म्याद थप गरी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको ब्रज ग्रुपरबी एन्ड बी जेभी काठमाडौँले सम्झौता अनुसार काम गर्न सकेन। सडक कालोपत्रे भएपछि यातायातमा सहजता आउने आशा गरेका सर्वसाधारण कालोपत्रेको कामले गति लिन नसक्दा चिन्तित बनेका छन्। उता निर्माण व्यवसायी रामकुमार थापालाई सडकका विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेको छैन।

सडक गुणस्तर बनाउन सडक डिभिजन कार्यालयले इन्जिनियर प्रज्वल सुनार, सब इन्जिनियर तुलसी भट्टराईलाई फिल्डमा खटाए पनि कामले गति लिन नसक्दा अलपत्र परेको छ। गत वर्ष सम्पन्न गर्ने सम्झौता गरे पनि काम लम्बिएका कारण म्याद थप गरी काम निरन्तरता दिएको थियो। डिभिजन कार्यालय चौरजहारीका प्रमुख अशुतोष कर्णका अनुसार निर्माण व्यावसायीले पुनः म्याद थपको निवेदन दिएकाले म्याद थप गरी वर्षा यामपछि सञ्चालन गरिने बताउनुभयो। ग्राबेल गरिएको सडक वर्षाको भल पानीले छियाछिया बनाएको छ। सङ्घीय सरकारले पर्यटन सडकका रूपमा उक्त सडकलाई लुम्बिनी दाङ, सल्यान, जाजरकोट पाँचकाटिया, जुम्ला, मुगु हुँदै तिब्बत जोड्ने रारा राजमार्ग रणनीतिमा सूचीकृत गरेको छ।





error: Content is protected !!