तातोपानी गाउँपालिकाको ७३ प्रतिशत भौतिक प्रगति

तातोपानी गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा ७३.१८ प्रतिशत भौतिक प्रगती हासिल गरेको छ । जुन अन्य पालिकाको तुलनामा बढी हो ।
६३ करोड ७४ लाख ९४ हजारको बजेट मध्य असारसम्म ५० करोड २९ लाख ९६ हजार अर्थात कुल ७८.९ प्रतिशत खर्च भएको लेखापाल शिवराज न्यौपानेले बताए । उनका अनुसार पुँजीगततर्फ विनियोजित कुल २६ करोड ९२ लाख ३३ हजार रुपैयाँमा असारमसान्तसम्म १९ करोड ७० लाख ३६ हजार २२३ अर्थात ७३.१८ प्रतिशत खर्च भएको छ ।
त्यस्तै चालुतर्फ विनियोजित ३६ करोड ८२ लाख ६१ हजारमा ८३.८ प्रतिशत खर्च भएको लेखा शाखाले जनाएको छ । लेखापाल न्यौपानेका अअनुसार तातोपानीको विकास खर्च विगतको भन्दा निकै सुधार भएको छ । तातोपानीले एक वर्षमा १९ करोड ७० लाखबढी बजेट खर्चेर झण्डै १ सय ६६ बढी साना ठुला योजना निर्माण गरेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, भवन, सडक लगायतका क्षेत्रमा १ सय ६६ वटा योजना निर्माण सम्पन्न भएको तातोपानीका योजना शाखा प्रमुख ओम बहादुर चन्दले बताए । उनका अनुसार पालिकाको वित्तीय समानीकरणतर्फ १३६ योजना मध्य १२६ सम्पन्न भई भुक्तानी भएको छ ।
प्रदेश अन्तरर्गतका २१ योजना मध्य १९ वटा सम्पन्न भएका छन् । प्रदेशका दुई योजना विभिन्न कारण अघि बढ्न सकेका छैनन् । संघीय सरकारको लगानीमा ५ ठुला ठेक्का पट्टाका योजना सम्पन्न भई भुक्तानी भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत ६ वटा विद्यालय भवन निर्माण भईसकेका छन् । संघ, प्रदेश र पालिकाका विभिन्न शिर्षक अन्तरर्गतका करिब १ सय ६६ योजना निर्माण सम्पन्न भएको चन्दले जानकारी दिए । ईन्जिनियर डिल्ली बुढाले तातोपानीका ८ मध्य ५ वडाले शतप्रतिशत योजना सम्पन्न गरेको बताए ।
पालिकाका वडा नं। १,२,५,६ र ७ ले छनोट भएका सबै योजना निर्माण गरी वडागत रुपमा शतप्रतिशत भौतिक प्रगती हासिल गरेको ईन्जिनियर बुढाको भनाइ छ । खानेपानी योजना निर्माणबाट तातोपानीका करिब ३ हजार २०० घरधुरी मध्य १७ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्राविधिक कर्मचारीको नियमित खटाई, प्रशासनिक कर्मचारीको चुस्त सेवा र जनप्रतिनिधिको प्रभावकारी समन्वय तथा निरन्तर निरिक्षण अनुगमनले तातोपानी विकास र सेवामा अब्बल भएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई बताउँछन् । उनले भने,‘पहिलो वर्ष सफल भएको अनुभुति छ । पूर्वाधार विकास, रोजगारी सृजना र शिक्षा क्षेत्रमा केही उल्लेखनिय काम भएका छन् ।
कर्णालीमै पहिलो पालिकाका रूपमा वैशाखमा आर्थिक वर्ष सक्यौ । तर पनि सिमित स्रोतकोबीच असिमित आवश्यकता पुर्ति गर्नुपर्ने चुनौती छ ।’ सेवा प्रवाहलाई चुस्त बनाउन,नागरिकका गुनासा सुनुवाई संबोधन गर्न तातोपानीले प्रत्येक चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।



