भारत प्रवेश गर्दा अनिवार्य परिचयपत्र

बर्दिया — भारतमा प्रवेश गर्दा बुधबारदेखि नेपाली नागरिकले भारतीय सीमा सशस्त्र प्रहरी बल (एसएसबी) लाई अनिवार्य परिचयपत्र देखाउनुपर्ने भएको छ । परिचयत्र नभएकालाई भारत प्रवेशमा रोक लगाइएको छ ।

पाकिस्तानी नागरिक सीमा हैदर नेपालको बाटो हुँदै भारत पुगेपछि केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको हो । भारतीय सुरक्षा अधिकारीले नेपाली सीमामा केही आपराधिक तथ्य र आईएसआईसँग संलग्न मानिसको आवागमन बढेकोले कडाई गरेको जनाएको छ । बहराईच जिल्लासँग जोडिएको बर्दिया र बाँकेको सीमा नाकामा पाकिस्तानी आइएसआईसँग संलग्न मानिस प्रवेश गर्न सक्ने भन्दै परिचयपत्र अनिवार्य गरिएको हो ।

भारतीय सञ्चारमाध्यम अमर उज्यालाका अनुसार सीमामा तैनाथ एसएसबी ४२ औं बाहिनीका उपकमांन्डेट अनिल यादवले नेपालबाट भारत जाने र आउनेमाथि बुधबारबाट जाँच कडाईका साथ सुरु गरेका छन् । चार छोरा, छोरीसहित पाकिस्तानी नागरिक सीमा हैदर दुबई हुँदै काठमाडौं आएकी थिइन् । उनका प्रेमी भारतीय नागरिक सचिनसहित पोखरा हुँदै दिल्ली पुगेपछि सुरक्षा चुनौती बढेको भन्दै नेपाल(भारत सीमामा निगरानी बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले नयाँ छुट्टै नियम यहाँ लागू नगरेको तर सीमामा केही कडाई गरेको बताए । उनले यसअघि पनि नेपालीसँग भारतीय सुरक्षाकर्मीले परिचयपत्र माग्दै आएको उल्लेख गरे ।





error: Content is protected !!