कार्यकर्ताको रिहाइको माग गर्दै रुकुम पश्चिममा युवा संघको प्रदर्शन


रुकुम पश्चिम — नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य डिल्लीराज शर्मालाई प्रहरीले प्रक्राउ गरी हिरासतमा राखेको विषयमा उनको रिहाइको माग गर्दै युवासंघ रुकुम पश्चिमले जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका-५ स्थित रेशम खोलामा एमबी कन्स्ट्रक्सन नामको कम्पनीले अवैध रुपमा प्राकृतिक स्रोतसाधनको उत्खनन गरेको विषयमा शर्माले सामाजिक सञ्जालमा प्रचारबाजी गरेपछि प्रहरीले उनलाई बुधबार बिहान चौरजहारीबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले अनधिकृत माध्यमबाट कसैको चरित्रहत्या गर्ने नियत राखी यस्तो गतिविधि गरेको पाइएकाले शर्माविरुद्ध जाहेरी आएपछि आफूहरूले पक्राउ गरेको बताए ।

चौरजहारीकै विशाल शर्माले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि डिल्लीराज शर्मालाई पक्राउ गरिएको बताउँदै उनी भन्छन्, ‘जहोरी आएपछि हामीले त्यसउपर कारबाही गर्नैपर्छ । हिजो १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएका छौँ । अब सबै कानुनअनुसार हुन्छ ।

यता एमाले रुकुम पश्चिमले भने बुधबार नै एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताले गलत कुराको विरोध गरेर सुशासनको पक्षमा बोलेपछि गल्ती गर्नेहरू डराएर पक्राउ गरेको आरोप लगाएको छ ।

एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटा हस्ताक्षरित विज्ञप्तिमा डिल्लीराजको तुरुन्त रिहाइको माग गर्दै उनले उठाएको सवाललाई समेत सम्बोधन गर्न माग गरिएको छ ।





error: Content is protected !!