दलनबाट उठ्दै दलित एकल महिला

वीरेन्द्रनगर — जुम्लाको तातोपानी गाउँ । २०५१ सालको कुरा हो, तारा नेपालीको घरमा पाहुना आए । १३ वर्षकी तारालाई के थाहा, घरमा उनकै बिहेको कुरा चलिरहेको छ । तिला गाउँबाट उनको हात माग्न आएका केटा पक्षसँग उनका बाआमाले बिहे पक्का गरेपछि उनलाई भनियो– ‘अब श्रीमान्को घर गरेर खानुपर्छ ।’ अर्काको घर जानुपर्छ भन्ने सम्झेर तारा निकै आत्तिइन्, रुन थालिन् । तर परिवारको निर्णयका अगाडि उनको रुवाइको केही सीप चलेन ।
पहिलो पटक महिनावारीसमेत नभएकी तारा त्यसपछिका कैयौं दिन अँध्यारो मुख लगाएर धुमधुम्ती बसिरहिन् । २९ वर्षअघिको कुरा सम्झिँदै ४२ वर्षीया ताराले सुनाइन्, ‘म जति रोए पनि परिवारले मेरो बिहे गरेरै छाड्यो ।’ हरिलाल परियारसँग उनको बिहे भयो । १५ वर्षको उमेरमा ताराले जुम्ल्याहा सन्तान जन्माइसकेकी थिइन् । तर दुर्भाग्य उनका दुवै जीवित सन्तान रहेनन् । किशोरावस्थामै गर्भवती बन्न बाध्य भएकी ताराले जन्माएको एक सन्तानको तत्कालै मृत्यु भयो । सँगै जन्मिएको अर्को सन्तानको भने ६ दिनपछि सास गयो । त्यसपछि पनि तारा गर्भवती बन्ने क्रम रोकिएन । उनले एकाध वर्षको अन्तरमा दुई छोरी र एक छोरा जन्माइन् ।
तारा परियार
कहिले गाउँमै त कहिले भारतमा मौसमी मजदुरीका भरमा उनका श्रीमान्ले घरखर्च धानिरहेका थिए । आफूले स्कुल टेक्न नपाएकी ताराको मनमा छोराछोरीलाई भने पढाउने रहर थियो । दुःखै गरेर पनि ताराले जिन्दगी बिताइरहेकी थिइन् । सुखदुःखमा श्रीमान्को साथ थियो । आफूले पढ्न नपाएको पछुतोमा छोराछोरीलाई पढाउने चाहना राखेकी उनले अरूका घरमा काम गरेर छोराछोरी हुर्काइरहेकी थिइन् । उनका श्रीमान् पनि कहिले गाउँमै त कहिले भारतका विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको खनखाँचो टारिरहेका थिए ।
०६२ असार ११ ताराका लागि कालो दिन बनेर आयो । बिहानैदेखि उनको गाउँ लिहीमा झरी दर्किरहेको थियो । अघिल्लो राति गाउँमा तत्कालीन शाही सेना आएको सुइँको पाएपछि उनका श्रीमान् हरिलाल नजिकैको नुन्दिना डाँडामा लुक्न गएका थिए । श्रीमान् लुक्न हिँडेको रात उनी निदाउन पनि सकिनन् । बिहान भान्सामा काम गरिरहेका बेला उनले ठूलो आवाजमा बन्दुक पड्केको सुनिन् । भान्साबाट बाहिर निस्कँदा जे दृश्य देखिन्, त्यसले उनको होस उडाइदियो । सेनाले उनको श्रीमान्लाई गोली हानिसकेका थिए । श्रीमान् रगताम्य भएर दैलोमा लडिसकेका थिए । राजनीतिबारे उतिसारो रुचि नभए पनि श्रीमान्लाई ०५५ सालमा तत्कालीन विद्रोही माओवादीले जबर्जस्ती आफ्नो कार्यकर्ता बनाएको उनलाई थाहा थियो ।
उमेरले २४ वर्ष टेक्दै गर्दा श्रीमान् मारिएपछि ताराका दुःखमाथि दुःख थपिए । दलित भएकै कारण भोग्नुपर्ने छुवाछूतको कथा त उनीसँग छँदै थियो । श्रीमान्को मृत्युपछि सुरु भएको एकल महिलाको परिचयले उनलाई झनै कमजोर बनायो । यही बेला गाउँलेहरू उनलाई ‘अलच्छिना भएर श्रीमान् टोकिस्’ भन्न थाले । अभावले निम्त्याएको संकटबाट स–साना लालाबाला कसरी जोगाउने भन्नेमा संघर्ष गरिरहेकी ताराको मन गाउँलेका आरोपले खिन्न हुन्थ्यो । उनले सुनाइन्, ‘छोराछोरीको मुख हेर्थे । अनि मर्नबाट पछाडि सर्थे ।’
ताराको अनुभवले भन्छ, ‘एकल महिलाका दुःख अथाह छन् । दलित एकल महिलाको दुःख भने दोब्बर छन् ।’ उनी धारामा पानी लिन जाँदा घण्टौं कुर्थिन् । सबैले पानी भरिसकेपछि मात्र उनले पालो पाउँथिन् । उनलाई देख्दा कोही भन्थे, श्रीमान् टोकेकी महिला भेट्टिई । कोही भन्थे, साइत बिग्रियो । उनले सुनाइन्, ‘श्रीमान् बितेपछि राम्रोसँग बोल्न र हाँस्न पनि छुट्यो ।’ पर्व र सांस्कृतिक गतिविधिमा उनलाई छुटाइन्थ्यो । कोही पुरुषसँग काम विशेषले बोल्यो भने कुरा काट्ने विषय बनाइन्थ्यो । ‘दलित महिलाको अवस्था अन्यको भन्दा अझै कमजोर छ,’ उनले भनिन्, ‘एकल भएपछिको अवस्था झन् दर्दनाक छ । आर्थिक अवस्था कमजोर भएकाले पनि अरूले हेप्छन् ।’
गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा पढिरहेका १ छोरा र १ छोरीलाई श्रीमान् बितेपछि द्वन्द्वपीडितका लागि तोकिएको दाङको विद्यालय सहिद स्मृति आदर्श माविमा पढ्न पठाउनुपर्यो । उनीहरूले कक्षा १२ सम्म त्यहीं पढे । अभावकै बीचमा उनले कान्छो छोरालाई भने गाउँमै पढाइन् । उनको ठम्याइमा समाज केही बदलिएको छ तर हुनुपर्ने जति अझै बदलिइसकेको छैन । उनले भनिन्, ‘अझै पनि एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । तर आफैंले गरिखान सक्ने भएपछि हेप्न भने सकेका छैनन् ।’
ताराकै जस्तो कथा छ, दैलेखको डुंगेश्वर गाउँपालिका–२ की ४५ वर्षकी सीता नेपालीको । बाआमाका आठ सन्तानमध्येकी साइँली छोरी हुन् । उनको बिहे १३ वर्षकै उमेरमा छिमेकी गाउँका जिते दमाईसँग भयो । स्कुल टेक्नसमेत नपाएकी सीताले बिहेको २ वर्षपछि गाउँमै प्रौढ शिक्षा पढिन् र नाम लेख्न सक्ने भइन् ।
डुंगेश्वर गाउँपालिका–२ की ४५ की सीता नेपाली ।
घर खर्च चलाउनका लागि ज्याला मजदुरी गर्न भारत गइरहने उनका श्रीमान् २०५७ पुसतिर पनि भारत गएका थिए । घरमा दोजिया सीता र उनका नाबालक छोरा थिए । भारत गएको तेस्रो महिनामा खबर आयो, श्रीमान् बिते । सीतालाई श्रीमान् के भएर कसरी बिते भन्ने कुनै खबर मिलेन । आफन्तहरूले भारतमै दाहसंस्कार गरिदिएकाले उनले अन्तिम पटक अनुहार हेर्नसमेत पाइनन् ।
श्रीमान् बितेको महिना दिनपछि उनले छोरी जन्माइन् । एकल महिलाको यात्रा, जातीय छुवाछूतको पाइलैपिच्छेको कहर अनि सुत्केरी समयको दुःख सुरु भयो । एकैचोटि भुमरीको घेरो परिन् । सीता सकीनसकी ज्याला मजदुरीको काममा जान्थिन् । परिवारको गर्जो टार्थिन् । उनले सुनाइन्, ‘श्रीमान् बितेपछिका दिनहरू संघर्ष गरेरै बिते ।’
शारीरिक दुःख उनले जेनतेन झेलेकै थिइन् । तर एकल महिलाप्रति समाजले गर्ने व्यवहारले उनलाई पाइलापाइलामा रुवाउँथ्यो । कतिले आरोप लगाउँथे, कतिले नराम्रो वचनले घोच्थे । उनले भनिन्, ‘समाजले हेर्ने नजरको कुरा गर्दाखेरी मलाई अझै पनि आँसु आउँछ ।’ समयसँगै एकल महिलाप्रति हेर्ने समाजको दृष्टिकोण पनि बिस्तारै बदलिँदै छ । तर दलित एकल महिला भएकै कारण अन्य एकल महिलाभन्दा बढी दुःख भोग्न परेको अनुभव उनीसँग छ । भन्छिन्, ‘एकल महिला भएपछि दुःख सबैलाई छ । तर दलित एकल महिलालाई बढी दुःख छ । समाजले हेर्ने दृष्टिकोण तल्लो स्तरको छ । हेपाइको प्रवृत्ति पनि बढी छ ।’
सीताको गाउँमा एक जना महिला स्वास्थ्य स्वयम्सेविका थिइन् । उनको संगतमा नपुगेको भए सीताका दुःख कहिल्यै घट्ने थिएनन् । ती स्वयम्सेविकाले आफ्नो सरुवा हुनुअघि सीतालाई आफूले गर्ने सबै काम सिकाएकी थिइन् । उनी हिँडेपछि सीताले त्यही बाटो समाइन् । त्यसपछिका १५ वर्ष उनी स्वास्थ्य स्वयम्सेविका भएर गाउँगाउँ चहारिन् । ०६४ सालमा दैलेख जिल्लाको उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका बनिन् ।
पाँच वर्षयता उनी गाउँकै लाँकुरी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सहयोगीका रूपमा करारमा कार्यरत छिन् । सीताका छोरा हिक्मत पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह पढ्दै पत्रकारिता गरिहेका छन् । छोरी अमृता भने डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाइ सकेकी छन् । बुहारी सजना पनि एउटा गैरसरकारी संस्थामा काम गर्दै छिन् ।
दुःखको लामो बाटो हिँडेर यतिबेला सीतालाई सुखको घुम्तीतिर आइपुगेको जस्तो अनुभव हुन्छ । तर पनि एकल महिलाले पाउने दुःख, एकल महिलाप्रति समाजले अगाडि कुरा नकाटे पनि पछिपछि कुरा काट्ने बानीले उनलाई झस्काइरहन्छ ।
तारा र सीताको जस्तै विगत छ, वीरेन्द्रनगर–६ की ४५ वर्षकी शारदा नेपालीको पनि । शारदाको पनि १५ वर्षको कलिलो उमेरमै बिहे भयो । ६ र ७ वर्षका छोरीहरू थिए । उनी ३५ वर्षकी थिइन् । उच्च रक्तचापले श्रीमान्को मृत्यु भयो । त्यसपछि श्रीमान् बितेपछि सुरु भएको एकल यात्रामा उनले पनि अनेकन तीता अनुभव संगालेकी छन् ।
पुरुषसँग बोल्दा उनीमाथि शंका गरियो । गाउँमा कोही बिरामी भएर मृत्यु भयो भने उनलाई टोकी भनेर आरोप लगाइयो । उनले अनुभव निचोरेर सुनाइन्, ‘एक त एकल महिला । त्यसैमाथि दलित समुदायको महिला । कति दुःख पाए भनेर साध्य छैन ।’
वीरेन्द्रनगर–६ की शारदा नेपाली ।
श्रीमान्को मृत्युपछि शारदाले वीरेन्द्रनगरका सडक र गल्लीहरू सरसफाइ गर्दै आफ्नो दैनिकी धानिरहेकी छन् । बिहान अँध्यारोमै आएर वीरेन्द्रनगरका सडक झाडु लगाउने, दिनभर नाला सरसफाइमा खटिएकी हुन्छिन् । फोहोरले भरिएका नाला सफा गर्दा होस् वा सिसा पन्छाउँदै फोहोर तह लगाउँदा होस्, उनलाई श्रीमान्कै सम्झनाले सताउँछ । श्रीमान् भएको भए यति धेरै दुःख हुन्थेन कि भन्ने मनमा लागिरहन्छ । आफूले पाएका दुःख सम्झेर उनलाई लाग्यो, छोरीहरूलाई पढाउन सकिनँ भने मैलेजस्तै दुःख पाउँछन् । अहिले शारदाले सरसफाइको काम गरेरै २२ र २० वर्षका २ छोरीलाई ब्याचलरमा पढाइरहेकी छन् ।
एकल महिलाप्रति समाजको व्यवहार नराम्रो छ । तर त्यही नराम्रो व्यवहार दलित समुदायका एकल महिलाप्रति भने झनै दोब्बर छ । दलित अधिकारकर्मी मन्जु सुनारका अनुसार दलित समुदायका एकल महिला र अन्य एकल महिलाबीच धेरै फरक छ । उनले लैंगिक हिसाबले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा लिइने गरेको बताउँदै दलित महिलालाई भने लैंगिक र जातीय हिसाबले तेस्रो दर्जामा राख्ने गरिएको बताइन् । भनिन्, ‘दलित एकल महिलामाथि सामाजिक अवगाल र आरोपहरू धेरै छन् । किनकि न्यायमा उनीहरूको कमजोर पहुँच छ अनि परिवारबाटै उनीहरूले संरक्षण पाएका छैनन् ।’



