नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाडौँ — आयरल्यान्डलाई नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६८ रन बनाP । नेपालको तर्फबाट अविजित रहँदै गुल्शन झाले सर्वाधिक ५७ रन बनाए ।
४२ बल खेल्दै ३ छक्का र ४ चौकाको मद्दतले उनले उक्त रन बनाएका हुन् । त्यस्तै अर्जुन साउद ८४ बलमा ४८ रन जोड्न सफल रहे भने कुशल मल्लले ३८ बलमा ४४ रन बनाए ।
खेलको आठौं नम्बरमा आएका सन्दीप लामिछानेले ३० बलमा ३२ रन बनाए । आठौं विकेटका लागि लामिछानेले झासँग मिलेर ५० रनको साझेदारी गरेका थिए ।
त्यस्तै आयरल्यान्डको तर्फबाट मार्क एडियर‚ बेरी माकाथी‚ क्रेग योङले २/२ विकेट लिए ।
यसै प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध खेलेको थियो । टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो । समूह चरणमा वेस्ट इन्डिजसँगको प्रतिस्पर्धा नेपाली क्रिकेट इतिहासमा अर्को बहुप्रतीक्षित खेल रह्यो । आयरल्यान्डसँगको खेल टेस्ट मान्यता राष्ट्रसँग नेपालको तेस्रो खेलसमेत हो ।










