कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं ः सत्ता गठबन्धन बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे जानकारी दिनुभयो।
कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा निर्णय भएको बैठकपछि उहाँले जानकारी दिनुभएको हो।
बैठकपछि नेता पाण्डेले भन्नुभयो, ‘सत्ता गठबन्धनभित्र कोशीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हो। कांग्रेसलाई मुख्यमन्त्री दिएपछि बाँकी मन्त्रालय कसलाई दिने ? कसरी विश्वासको मत जुटाउने ? त्यो क्रमशः अघि बढ्छ।’’
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा कोशी प्रदेश सरकारमा राप्रपालाई सँगै लिएर अगाडि बढ्ने विषयमासमेत छलफल भएको जानकारी दिनुभएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि केन्द्रकै गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउने प्रयास गरिरहेको छ।
आइतबार साँझ कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्म सरकार गठबनका लागि समय दिनुभएको छ।










