अतिक्रमित जमिनमा नगरपालिकाले बनायो व्यावसायिक भवन
कालीकोट ः कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले अतिक्रमित जमिनमा भवन बनाउन सुरु गरेको छ। स्थानीयले कब्जा गरेर बनाएका घर खाली गराएर नगरपालिकाले आफ्नो स्वामित्त्वमा रहने गरी ४५ वटा सटर निर्माण गर्न थालेको छ।
सहरी विकास कार्यालय जुम्लाको सहयोगमा नगरपालिकाको केन्द्र रहेको आरसीपी बजारमा व्यावसायिक सटर निर्माण भइरहेका छन्। २०५९ सालदेखि स्थानीयले कब्जा गरेर बनाएका घर टहरा नगरपालिकाले खाली गराएपछि सटर निर्माणको कामले प्राथमिकता पाएको हो। नगर प्रमुख धर्मराज शाहीले अघिल्लो सरकारले खाली गराउन नसकेको अवस्थामा आफूले सबै अतिक्रमित जमिन खाली गरे लगत्तै ठेक्का भएको र सटर बन्न सुरु भएको बताउनुभयो।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवान सिहं बमले अतिक्रमित जग्गा खाली गराउँदा जसका घर भत्काइएको छ। निर्माण सम्पन्न भएपछि उनीहरुलाई नै सटर भाडामा दिने सहमति भएको छ। सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले सरकार पक्षबाट मारिएका आफ्ना नेता कार्यकर्ताको नाममा बजार स्थापना गर्न स्थानीयलाई घडेरीका रुपमा सार्वजनिक जग्गा वितरण गरेको थियो।
नगरपालिकाको बल प्रयोग गरेर टहरा भत्काउँदै भवन बनाउने तयारी गरेपछि नयाँ बन्ने सटरमा आफूहरुलाई बस्न दिनुपर्ने शर्त उनीहरुले अगाडि सारेका हुन्। सोही अनुसार सहमति भएको बमको भनाइ छ।
हाम्रो बसना जेभीले यो वर्ष ३२ वटा सटर निर्माण गर्नेछ भने ठेक्का बहुवर्षीय भएकाले ४५ वटा बनाउने नगरपालिकाको लक्ष्य छ। सटर निमार्णका लागि निर्माण कम्पनीले ११ करोड ६० लाख ६३ हजार २१२ रुपियाँको सम्झौता गरेको छ। निर्माण व्यवसायी मानव बमले २०८१ साल कात्तिक ५ गते सबै सटर निर्माण गरिसक्ने सम्झौतामा उल्लेख भए पनि त्यस अगावै काम सक्ने गरी काम भइरहेको बताउनुभयो।