डोल्पाका गुम्बामा लुटपाट ः शंकाको आधारमा एक जना पक्राउ

सुर्खेत ः डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेका गुम्बाहरुमा लुटपाट भएको घटनामा संलग्न रहेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख शिवकुमार बुढाथोकीका अनुसार ती व्यक्तिलाई शे–फोक्सुण्डोबाटै पक्राउ गरिएको हो । यद्यपि पक्राउ परेकाको नाम भने उनले खुलाउन चाहेनन् ।

हामी अनुसन्धानकै क्रममा छौँ, शंकाको आधारमा मात्र हामीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ ‘केही व्यक्तिबाट आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो ।’

शे–फोक्शुण्डोको वडा नं.–४ मा रहेको देछेन लाब्राङ गुम्बामा ८ गते राति ११ बजे र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा ९ गते राति १० बजे हतियारधारी समूह प्रवेश गरी लुटपाट मच्चाएको थियो । उक्त समूहले पुरातात्विक मूर्ति, पूजाका सामानदेखि गुम्बामा भएका सबै गरगहना लुटेर लगेका थिए । साथै उनीहरुले गुम्बाका पुजारीहरुमाथि पनि कुटपिट गरेका थिए ।

भौगोलिक विकटताका कारण घटनाबारे ढिलोगरी जानकारी आएको थियो । जिल्ला सदरमुकामदेखि ७० कोस टाढा रहेको यो स्थानमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन प्रकाश चपागाइँको नेतृत्वमा अघिल्लो शनिबार जिल्लाबाट १२ जना प्रहरीको टोली पठाइएको थियो ।

तीन दिनको समय लगाएर घटनास्थल पुगेको प्रहरी टोली घटनाबारे जानकारी लिएर सोमबार जिल्ला सदरमुकाम फर्कने तयारीमा छ । ‘बाँकी अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ, केही दिन हेरौँ, घटनास्थलमा गएको टोलीले सबैतिर हेरेर आउँछ,’ डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए ।

उनका अनुसार चारवटै सुरक्षा निकायलाई विभिन्न ठाउँमा परिचालन गरिएको छ । साथै डोल्पाबाट अन्तरजिल्ला जोड्ने नाकाहरुमा समेत चेकजाँचलाई कडाई गरिएको छ ।





error: Content is protected !!