जुम्लाको गिडिखोलामा एक घरमा आगलागी

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोलाको एक घरमा आगलागी भएको छ । आगलागीबाट लत्ताकपडाहरु, भाँडाकुडाहरु जलेर नष्ट भएका छन् । स्थानीयका अनुसार तातोपानी–४ का भरत नेपालीको घरमा बिहान ४ बजे देखि आगलागी भएको हो ।
गत साता भरतका भाइ मुकुन्दले गैरदलित समुदायकी केटी भगाएर घरमा लिएर आएका थिए । केटीका आफन्तहरुले नै घरमा आगो लगाएको आरोप नेपाली परिवारले लगाएका छन् ।
मुकुन्दले केटी ल्याएको चार दिनपछि घरमा आगो लागेको उनका माइला दाइ भरत नेपालीले बताएका छन् । भाइले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिनपछि आगो लाग्नु संयोग नभएर योजना हो,’ उनले भने,यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौं ।
तीन तलाको घर जलेर पूरै नष्ट भएको हाकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताए । घर आगलागी भएको कुरा जिल्ला प्रहारी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हौं,’ उनले भने, क्षतिको विवरण निकाल्दैछौं । घटनाको अनुसन्धान भइरहेको छ ।
दलित केटाले गैरदलित केटी भगाएको भन्दै घरमा आगजनी गरिएको भन्दै गाउँमा सर्वत्र विरोध हुन थालेको छ ।










